प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारी भइरहेको विदेश सचिवद्वारा जानकारी

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले हालै रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भारत सरकारले उद्धार तथा राहतमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
भारतले विपद्को समयमा पहिलो उद्धारकर्ताका रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोलीसमेत परिचालन गरेको थियो।
प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत सहयोगको प्रतिबद्धता जनाउनुभएकोमा पनि धन्यवाद व्यक्त गर्नुभयो। भेटका क्रममा उहाँले नेपालको खेलकुद क्षेत्रको विकासमा भारतसँग सहकार्य गर्न सकिने विषयमा समेत चासो राख्नुभएको थियो।
भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई सफल बनाउन भारतीय पक्षले तयारी तीव्र पारेको जानकारी गराउनुभयो।
उहाँले ऊर्जा, जलस्रोत, व्यापार तथा पारवहन र उड्डयन क्षेत्रका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको पनि बताउनुभयो।
साथै, भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिँदै आजै उक्त मार्गमा रेल परीक्षणसमेत गरिएको बताउनुभयो।।






प्रतिक्रिया राख्नुहोस्