प्रधानमन्त्री चुनावका लागि तयार हुनुहुन्छः डा. दीक्षित
'अदालतमा विचाराधिन विषयमा सडकआन्दोलन गर्नुको कुनै तुक छैन'
काठमाडौं– नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओली चुनावका लागि तयार रहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री ओलीको हाउभाउ हेर्दा पनि उनी निर्वाचन जाँदैछन् भन्ने कुरा निश्चित भएको पनि सुनाउनुभयो ।
राजधानीमा शनिबार भएको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो, ‘केपी ओली चुनावको लागि रेडी हुनुहुन्छ । प्रचण्ड र माधव नेपाल समूह निर्वाचनमा नजाने भन्दैछ । भोलि निर्वाचन भयो भने सबै दल निर्वाचनमा सहभागी हुन्छन् ।’
दीक्षितले प्रधानमन्त्री ओली संकटकाल लगाएर भएपनि निर्वाचनमा जाने दाबी गर्नुभयो । चुनाव हुने भयो भने कोही पनि पाँच वर्षको लागि बाहिर नबस्ने भन्दै उहाँले सबै दल निर्वाचनमा जाने ठोकुवा गर्नुभयो ।
डा. दीक्षितले आज दलहरु सडकमा उत्रिनुको कुनै कारण नै नभएको पनि जिकिर गर्नुभयो । अदालतमा विचाराधिन भएको विषयमा यसरी सडकमा आन्दोलन गर्नुको कुनै तुक नहुने उहाँको भनाइ छ । उहाँले नेपालमा यस्तो खालको संसदीय व्यवस्था चल्न नसक्ने भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीय शासन चाहिने आवश्यकता औंल्याउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्