निजी विद्यालयहरुले जबरजस्ती कक्षा सञ्चालन गर्न थालेपछि बन्द गर्न आग्रह

झापा- प्रदेश नम्बर १ मै कोरोनाको इपिसेन्टर बनेको कचनकवल गाउँपालिकाका केही निजी विद्यालयले जबरजस्ती कक्षा सञ्चालन गरेको पाइएपछि गाउँपालिकाले बन्द गराएको छ ।

गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले समुदायमा आधारित रहेर सिकाइ केन्द्रमार्फत वैकिल्पक सिकाइ सहजीकरण गर्नुपर्नेमा विद्यालय नै खोलेर कक्षा सञ्चालन गर्न शुरु गरेपछि बन्द गराइएको अध्यक्ष अञ्जार आलमले बताउनुभयो ।

“लकडाउन खुले पनि कोडिभ-१९ को जोखिम झन बढेर गइरहेको छ, यस्तो बेलामा विद्यालय खोली पठनपाठन गर्ने कुरै आउँदैन”, उहाँले भन्नुभयो, “विद्यालयले आफ्नो क्षेत्रमा सिकाइ केन्द्र स्थापना गरी थोरै सङ्ख्यामा वैकल्पिक सिकाइमा सहजीकरण गर्नुपर्छ ।”

गाउँपालिकाको शिक्षा शाखाले केही दिन अघि गरेको अनुगमनका क्रममा वडा नम्बर २ र वडा नम्बर ७ मा रहेका निजी विद्यालयले कक्षा कोठाभरि विद्यार्थी राखेर पठनपाठन गरिरहेको पाएपछि बन्द गराएको थियो । शाखाले सूचना नै प्रकाशन गरेर विद्यालय खोली पठनपाठन नगर्न नगराउन अनुरोध गरेको छ ।

जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३४६ जना रहेको छ । तीमध्ये निको भएर ३०४ जना घर फर्किएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो । कचनकवल गाउँपालिकाका मात्र १३५ जना कोरोना सङ्क्रमितमध्ये निको भएर १३४ जना फर्किसकेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.