तीन वर्षदेखि ढोका खोल्ने र बन्द गर्दै बित्यो विषादी अवशेष बिश्लेषण प्रयोगशाला
स्याङ्जा– सरकारी कार्यालय कुनै उदेश्य प्राप्ती गर्न स्थापना गर्ने गरिन्छ । तर स्याङ्जामा स्थापना गरिएको एक कार्यालय बिहान ढोका खोल्न र बेलुका ढोका बन्द गर्न मात्र स्थापना गरिएको छ ।
भारत सहित बाहिरी जिल्लाबाट आउने तरकारी , मासु तथा फलफुलजन्य बस्तुमा विषादीको मात्र मापन गर्ने उदेश्य सहित स्थापना गरिएको कार्यालय ३ बर्ष देखि काम बिहीन बनेको छ ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सिमानामा लक्षित गर्दै गल्याङ १ मालुङ्गामा संचालनमा ल्याईएको बिषादी अवशेष द्रुत बिश्लेषण प्रयोगशालाको गत ७५ चैत्र १२ गते उदघाटन गरियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ , तत्कालिन प्रदेशका कृषि मन्त्री लेख बहादुर थापा सहित निकै तामजामको साथमा उदघाटन गरिएको थियो । भारत सहित छिमेकी जिल्लामा आयात हुने तरकारी , फलफुल लगाएतको दैनिक उपभोग्य बस्तुमा बिषादीको मात्रा मापन गर्न यो कार्यालय स्थापना गरिएको हो । तर, अहिले एक जना कार्यालय सहयोगी र एक जना प्राविधिक सहायकको भरमा यो कार्यालय बिहान बेलुका खुल्ने मात्र गरेको छ ।
‘कार्यालय त खुल्यो तर कर्मचारीको दरबन्दी छैन, न त बजेट नै छ । अनी के काम गर्ने कुनै लक्षित कार्यक्रम छैन,’ प्राविधिक सहायक प्रकाश पुनको भनाई छ । उनी भन्छन् , ‘कार्यालय ठिक हो । गण्डकी प्रदेशका सर्बसाधारणले विषादी रहित तरकारी खाउन् भन्ने उदेश्यले खोलियो तर ३ बर्षदेखि बजेट,कर्मचारी र लक्षित कार्यक्रम बिहीन भइयो ।’ प्रदेश सरकारले करारमा कृषि प्राविधिक को विज्ञापन गरी न्यूक्ति गरेको भएपनि यस कार्यालय थप कर्मचारी नपठाएको गुनासो पुनको छ । पुन भन्छन् , ‘बिहान १० बजे आयो ढोका खोल्यो बेलुका ४ बजे ढोका बन्द गर्यो । हामी प्राविधिकलाई काम बिहीन हुँदा निकै उप्ठेरो हुँदो रहेछ ।’
यता गण्डकी प्रदेश सरकारले ३ नं प्रदेशसंग सिमाना जोडिएको तनहुको आवुखैरेनी पनि यही प्रकृतिको कार्यालय स्थापना गरेको भएपनि उक्त कार्यालय पनि कामकाज बिहीन बनेको छ । अहिले यस कार्यालयको नाम परिवर्तन गरी कृषि तथा पशु नियमन ईकाई राखिएको छ । नाम परिवर्तन गरिने तर तोकिएको कार्यविधि तथा कार्यक्रम सिर्जना नगर्ने गर्दा कार्यालय स्थापना मात्र गरीनु लज्जासपद विषय बनेको छ । नाम परिवर्तन भएपछी कृषि उपज र पशुपंक्षीको नियमन गर्ने उदेश्य बोकिएको भएपनि कुनै कर्मचारी र कार्यक्रमको योजना अघि सारिएको छैन ।
उक्त कार्यालयको स्थापना सँगै निकै खुसी भएका जिल्लाबासी मात्रै होइन गण्डकी प्रदेशवासी सर्वसाधारण निराश बन्न थालेका छन् । ‘भारत बाट आउने तरकारी तथा फलफुलको विषादीले सर्वसाधारणको स्वास्थ्यमा निकै ठुलो असर पारेको थियो । यो कार्यालयको स्थापनाले भान्साकोठा स्वच्छ हुनेमा विश्वस्त थियौँ , तर काम भने शुन्य भयो’ , वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभकान्त पौडेल भन्छन् , ‘यदि यो कार्यालय राम्रोसँग संचालनमा आएको भए जिल्ला भित्रै उत्पादन भएको बिषादी रहित तरकारी फलफुलले बजार पाउने थियो । कृषक अझ उत्साहित हुने थिए । ’
यस कार्यालयमा ३ बर्ष अघि ल्याइएका करोँडौ सामान लथालिङ्ग भएका छन् । विषादी मापन गर्ने रसायन , उपकरण प्रयोग बिहीन भएका छन् । राज्यको ठुलो सम्पती यसरी हिनामिना जाँदा प्रदेश सरकारले सोँच्ने कहिले आम सर्वसाधारणमा प्रश्न उठ्ने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्