मालपोत कार्यालयमा अत्यधिक भीडले कोरोनाको जोखिम
भक्तपुर- भक्तपुरको जिल्ला मालपोत कार्यालयको सेवा अस्तव्यस्त देखिएको छ । जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानका क्रममा जिल्ला मालपोत कार्यालयमा पुग्दा यहाँको सेवा अस्तव्यस्त पाइएको हो ।
दैनिक एक हजारभन्दा बढीको भीड रहेको मालपोतमा अधिकांश सेवाग्राही र केही कर्मचारीको मुखमा मास्क देखिँदैनथ्यो । न त सेवाग्राहीको लागि हात धुने व्यवस्था नै थियो न त स्यानिटाइजरको व्यवस्था नै ।
सेवाग्राहीका लागि राखिएको हेल्पडेक्स खाली थियो । सेवाग्राहीको भीडले सामाजिक तथा भौतिक दूरी कायम गरिएको थिएन । कार्यालयभित्र एकले अर्कालाई नछोइ हिँड्नसक्ने अवस्था थिएन । सुरक्षाको कुनै प्रत्याभूति थिएन । एक जनामात्रै कोरोना सङ्क्रमित भेटिए, त्यहाँ सयौंलाई कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च थियो ।
यसबारेमा अनुगमनका नेतृत्व गर्नुभएका जिसस प्रमुख नवराज गेलालले जिज्ञासा राख्दा मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले मालपोत कार्यालय भद्रगोल र अस्तव्यस्त रहेको स्वीकार गर्नुभयो ।
मालपोत कार्यालयको कोठा सेवाग्राहीमैत्री रूपमा खुला हुनुपर्नेमा बन्द कोठामा कार्यालय सञ्चालन हुनु र कलम किन्नसमेत सरकारले पैसा नदिने गरेकाले यहाँको सेवा अस्तव्यस्त र भद्रगोल भएको बताउनुभयो ।
प्रमुख मालपोत अधिकृत भण्डारीले भन्नुभयो, “कार्यालयको भवन नै सेवाग्राहीमैत्री छैन, अर्कोतर्फ कहीँकतैबाट पैसा र थप बजेट आउँदैन, कलम किन्ने पैसा हामीसँग छैन, सियोको धारमा जागिर खाएर बसेका छौँ, उल्टै हामीलाई दोष दिन्छन् ।”
अहिले पनि कार्यालयमा दैनिक एक हजार १०० भन्दा बढी सेवाग्राहीको भीड रहने गरेको बताउँदै उहाँले कलम किन्ने पैसा नहुने मालपोत कार्यालयले सेवाग्राहीलाई हात धुने र स्यानिटाइजरको व्यवस्था गर्न नसक्ने बताउनुभयो ।
कोरोनाको जोखिम रोक्ने जिम्मेवारी कार्यालयको नभएको बताउँदै उहाँले सेवाग्राही आफैँले सचेत हुनुपर्ने बताउनुभयो । “म प्रमुख भएरै कलङ्की मालपोत कार्यालयलाई नमूना र उत्कृष्ट बनाएँ, भक्तपुर आएपछि यो पनि बनाउँछु भनेको बजेट छैन, यहाँ केही गर्न सकिन”, प्रमुख भण्डारीले भन्नुभयो, “लेखापढीले फाइल पल्टाउने परम्परागत यो अफिसमा काम पनि परम्परावादी नै छ, यो सिस्टम चेन्ज गर्न गाह्रो छ ।”
सरकारले स्थानीय तहमा मालपोत पठाउने भनेपछि कार्यालयले एक स्थानीय तहका तीन कर्मचारीलाई तालिम दिन थाले पनि यो प्रभावकारी नहुने उहाँको दाबी छ । लामो समयदेखि काम गर्ने मालपोतका कर्मचारी अझै सिक्दै रहेको र लेखापढीको सहयोग लिनुपर्ने परम्परामा स्थानीय तहका कर्मचारीलाई सामान्य तालिमले केही प्रभाव नुहने उहाँको भनाइ छ ।
कार्यालयका नासु कुलबहादुर बस्नेतले मालपोतका कर्मचारीलाई हेर्ने नजर गलत भएकाले नयाँ कर्मचारी मालपोत सरुवा भएर आउन नचाहने गरेको बताउँदै बिहानैदेखि काम गरे पनि कर्मचारीलाई कुनै सेवा सुविधा नपाउने गरेको अनुगमन टोलीसँग गुनासो गर्नुभयो ।
यो कार्यालयले अहिले दैनिक करिब १०० रजिस्ट्रेशन, पाँच लगत दाखिल, छ नामसारी, १५ हालसावी, तीन संशोधन र राजश्व सङ्कलनको काम गर्दै आएको छ । आर्थिक वर्ष २०७६-७७ मा कार्यालयले कूल रु एक अर्ब ७९ करोड चार हजार १११ राजश्व सङ्कलन गरेकामा जग्गा रजिस्ट्रेशनबाट मात्रै रु एक अर्ब पाँच करोड ८१ हजार राजश्व सङ्कलन गरेको कार्यालयका प्रमुख भण्डारीले जानकारी दिनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्