‘कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई छैन’

सुर्खेत- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताउनुभएको छ । सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उहाँले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष बस्नेतले बिनाआधार जथाभावी समाचार लेख्ने, आक्षेप लगाउनेजस्ता उजुरी बढेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गर्नुभयो । “हामी समाजको प्रतिनिधि हो, जहिले पनि परीक्षणमा हुन्छौँ”, उहाँले भन्नुभयो, “हाम्रा क्रियाकलाप समाजले नियालिरहेको हुन्छ, त्यसैले आचारसंहिताको डोरीभित्र रहेर काम गर्नुपर्छ ।” पे्रस काउन्सिल नेपालले देशव्यापीरूपमा आचारसंहिता जागरण अभियान सुरु गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । पत्रकार आचारसंहिता पालनाका लागि पत्रकार महासङ्घको पनि उत्तिकै भूमिका रहेको उहाँको भनाइ थियो ।

प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले पत्रकारले बुम देखाउँदा भाग्नुपर्ने अवस्था आएको भन्दै जिम्मेवार र मर्यादित पत्रकारिताको खाँचो औँल्याउनुभयो । उहाँले प्रेस काउन्सिल नेपालले दूत भएर सरकार र पत्रकारबीच पुलको काम गरिरहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले आचारसंहिता उल्लङ्घन गर्दा पत्रकारिताको विश्वसनियतामाथि प्रश्न उठेको बताउनुभयो । काउन्सिलले पत्रकार आचारसंहितासम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दा जिल्लास्तरमा आचारसंहिता सिकाउने प्रशिक्षक उत्पादन हुने उहाँको विश्वास छ । पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका २५ जना सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.