१ लाख ४९ हजार ५९३ मनोनयन दर्ता
'सबै जिल्लामा प्रविष्टिको काम सकेपछि एक मुष्ट रुपमा अन्तिम मनोनयन दर्ताको नतिजा प्रकाशन हुन्छ'
काठमाडौं- स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४९ हजार ५९३ मनोनयन दर्ता भएको छ ।
९० प्रतिशत डेटा प्रविष्टिको काम भइसकेको र सबै जिल्लामा प्रविष्टिको काम सकेपछि एक मुष्ट रुपमा अन्तिम मनोनयन दर्ताको नतिजा प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो । निर्वाचन आयोगका अनुसार आज पाँच बजेसम्म एक लाख ४७ हजार २७४ जनाले मनोनयन दर्ता गरेको विवरण आइसकेको छ । प्रवक्ता पौडेलले उम्मेदवारको अन्तिम विवरण सार्वजनिक गर्न समय लाग्ने जानकारी दिनुभयो ।
आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा तीन हजार ४३० र उपप्रमुख पदमा दुई हजार ९७ जनाको मनोनयन दर्ता भएको छ । यस्तै, पालिका अध्यक्षमा तीन हजार ३६३ र उपाध्यक्ष पदमा दुई हजार ३८२ जनाको मनोनयन दर्ता भएको छ । वडाध्यक्ष पदमा ३४ हजार ३५७, महिला सदस्य पदमा २५ हजार ३४५, दलित महिला सदस्य पदमा २२ हजार ८९९ र वडा सदस्य पदमा ५३ हजार ४०१ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ । आयोगद्वारा सार्वजनिक गरिएको विवरण अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने दिन तोकिएको छ । तर, अधिकांश निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावलीको सूची प्रकाशन गर्न ढिलाइ गर्दा दाबी विरोधको उजुरी गर्न पनि समस्या भएको छ ।
उम्मेदवारहरुको नामावलीको सूची प्रकाशन भएपछि उम्मेदवारविरुद्ध दाबी–विरोध र उजुरी दिने समय सुरु हुने आयोगले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्