खुकुरी प्रहारबाट एकको मृत्यु, चार घाइते

मोरङ- मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच आज भीडन्त हुँदा एक जनाको मृत्यु हुनाका साथै चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज अपराह्न बेलबारी-५ का जितेन चौधरी, दिनेश श्रेष्ठ र सन्तोष मगर तथा सोही स्थान बस्ने सईकुमार राई, समुद्र राई र गौरव राईलगायतबीच सामान्य वादविवाद हुँदा खुकुरी प्रहारबाट घाइते भएका चन्द्रकुमार राईको उपचारका क्रममा मृत्यु भएको छ ।
खुकुरी प्रहारबाट घाइते उनको विराट शिक्षण अस्पताल बूढीगङ्गामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।
घाइते सईकुमार, समुद्र र गौरव राईको सोही अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने समूहका जितेनसमेत घाइते भएकामा विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । झगडामा संलग्न अन्य तीन जना फरार रहेकामा खोजतलास भइरहेको छ ।-






प्रतिक्रिया राख्नुहोस्