पोखरामा रङसँगै रमाए विदेशी पर्यटक

काठमाडौँ- डेनमार्कबाट आउनुभएकी सोफी पोखरा लेकसाइडमा निकै हर्षित देखिनुहुन्थ्यो । उहाँको अनुहारभरि रङ दलिएको थियो । सेतो टिसर्टमा सजिनुभएकी सोफीको कपडा पनि रङले पोतिएको थियो । नेपालको रङको पर्व निकै राम्रो लागेको उहाँको प्रतिक्रिया थियो । “रङ खेल्ने पर्व निकै राम्रो लाग्यो । मलाई पनि खेल्न मन लाग्यो अनि खेलिरहेको छु”, उहाँले भन्नुभयो, “योभन्दा पहिला नेपाल आउँदा यस्तो रमाइलो भएको छैन । अहिले निकै खुसी छु ।”

सोफीसँगै अन्य तीन साथी हुनुहुन्थ्यो । उहाँहरू पनि होलीमा रङसँग रमाइरहनुभएको थियो । उहाँको साथी केराङले रमाइलो गरिरहेको बताउनुभयो । नेपालको यो पर्वको बारेमा डेनमार्क फर्किएपछि अरु साथीलाई पनि सुनाउने बताउनुभयो । “पक्का पनि डेकमार्क गएपछि यसका बारेमा अरु साथीलाई भन्नेछु, उनीहरू पनि पक्का खुसी हुनेछन्”, केराङले भन्नुभयो ।

अमेरिकाबाट पोखरा घुम्न आउनुभएका टोमेरले रङसँग रमाउँदा निकै आनन्द र खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले संस्कार र संस्कृतिको सम्मान गर्नसके राम्रो हुने बताउनुभयो । होटल सङ्घ पोखराका महासचिव राजेन्द्र ढकालले विभिन्न देशका नागरिक एकै ठाउँमा हुने अवसर प्रदान गरेकामा खुसी व्यक्त गर्नुभयो । “कोरोना महामारीपछि यो वर्ष पर्यटकको उल्लासमय उपस्थिति रह्यो । विदेशी पर्यटक एकअर्कालाई रङ दलेर आत्मियता र माया साटिरहेको हामीले पायौँ”, ढकालले भन्नुभयो ।

कोरोनापछि विस्तारै पर्यटकको सङ्ख्या बढ्दै गएको उहाँको प्रतिक्रिया थियो । समय समयमा हुने यस्तो गतिविधिले पर्यटकीय गतिविधि बढ्ने महासचिव ढकालले बताउनुभयो । अहिले पोखरामा होटलको अकुपेन्सी ३० प्रतिशतको हाराहारीमा रहेको उहाँले जानकारी दिनुभयो । पोखरा आउने बाटो र हवाई उडानका कारण भनेजस्तो पर्यटक नभएको उहाँको धारणा छ । “मुग्लिनबाट पोखरा आउने बाटो उस्तै छ । अनि हवाई उडानमा पनि उति सारो मन गर्दैनन्”, उहाँले भन्नुभयो, “यसमा सरकारले सोच्नुपर्ने हो तर आज जुनरूपमा हर्षोल्लास छाएको छ । यस्तो खालको गतिविधि अझै हुनु जरुरी छ ।”

हर्षोल्लासको पर्वमा अप्रिय घटना हुन नदिन कास्की प्रशासनले पोखरामा सुरक्षा व्यवस्था कडा बनाएको थियो । सोही कारण कुनै अप्रिय घटना हुन नपाएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख वेदप्रसाद जोशीले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.