राष्ट्रपतिका उम्मेदवार पौडेलद्वारा राप्रपाका नेतासँग भेट

काठमाडौँ- नौ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलसहित गठबन्धनका नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग भेटवार्ता गर्नुभएको छ ।

यही फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा गठबन्धनका साझा उम्मेवार पौडेललाई भोट माग्न आज साँझ गठबन्धनका नेताहरू राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुग्नुभएको थियो । भेटमा राप्रपा नेताहरूले आगामी फागुन २४ गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले राष्ट्रपतिको निर्वाचनका बारेमा निर्णय गर्ने जानकारी दिएको भेटमा सहभागी कांग्रेस नेता दीपक खड्काले राससलाई जानकारी दिनुभयो ।

राप्रपाका नेताहरूले राष्ट्रपति निर्वाचनमा सहभागी हुने वा नहुने भन्नेबारे टुङ्गो लगाएपछि नोक्सानी नहुने गरी निर्णय लिने बताएका छन् । सोही अवसरमा राप्रपाका नेताहरूले गठबन्धनबाट राष्ट्रपति पदमा साझा उम्मेदवार बन्नुभएको भन्दै पौडेललाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

भेटमा राष्ट्रपतिका उम्मेदवार एवं कांग्रेस वरिष्ठ नेता पौडेलसहित कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, दीपक खड्का, नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेत, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू डा प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, दीपक बोहरालगायत सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । कांग्रेसबाट पौडेल र नेकपा (एमाले) बाट सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.