स्थिरता र स्थायित्वमा विश्वास नगर्ने शक्तिबाट देश विकास हुन सक्दैनः अध्यक्ष ओली

रुपन्देही- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्नेसमेत बताउनुभएको छ ।

एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत बुधबार रुपन्देही पार्टीले बुटवलमा आयोजना गरेको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा लोकतन्त्र राजनीतिक अधिकारको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्रमा अवसर प्राप्त हुनुपर्ने बताउनुभयो ।

उहाँले लोकतन्त्रप्रति प्रतिबद्ध, शान्ति, स्थिरता र स्थायित्वमा विश्वास नगर्ने शक्तिबाट देश विकास हुन नसक्ने बताउनुभयो । उहाँले स्पष्ट दृष्टिकोण भएको, देश बनाउने दृष्टिकोणसहितको सङ्कल्प बोकेको पार्टीले बहुमत पाउँदा मात्र देशमा स्थिरता, स्थायित्व र विकास सम्भव हुने तर्क गर्नुभयो ।

“देश बनाउने कुनै दृष्टिकोण र सङ्कल्प नभएको शक्तिले देशमा बहुमत ल्याएमा देशमा स्थिरता र स्थायित्व ल्याउन सक्दैन”, अध्यक्ष ओलीले भन्नुभयो, “त्यसले जनतामा जनतामा तीव्र निराशा, असन्तुष्टि बढाउने, विकास निर्माणका काम अवरोध हुन्छ, शान्ति सुव्यवस्था कायम हुन सक्दैन ।”

उहाँले ‘मिसन ग्रासरुट’ को मिसन अर्को चुनावसम्म वडा तहसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत पुर्‍याई एकल बहुमत ल्याउने रहेको बताउनुभयो । “अब आउने चुनावमा वडादेखि सङ्घसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत अर्थात् बहुमत आउने गरी एकताबद्ध भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “अब एमालेमा गुटबन्दी र गैर एमाले गतिविधि स्वीकार्य हुँदैन ।”

एमालेले ल्याएको विकास र समृद्धिका योजनाका विषयमा पार्टीपङ्क्ति जनतासमक्ष जान नसकेको र जनतालाई राम्रोसँग बुझाउन नसकेको बताउँदै अध्यक्ष ओलीले ती भ्रम चिर्न अहिलेको ‘मिसन ग्रासरुट’ अभियान ल्याइएको बताउनुभयो ।

“हामीले असल अभ्यासको थालनी गर्यौं, ३० वर्षमा हुन नसकेका काम नौ महिनामै गर्‍यौँ, तर हामीले जनतालाई बुझाउन सकेनौँ”, उहाँले भन्नुभयो, “यति धेरै शक्तिशाली पार्टी कमिटी निष्क्रिय बस्यो, आफ्ना जिम्मेवारी पूरा गरेनौँ, अब त्यसरी चल्दैन, अब धार लगाऔँ, विकास र समृद्धिको बाहक बनौँ अहिलेको मिसन पूरा गरौँ ।”

अहिले युवा पुस्तामा समेत राजनीतिक सचेतना पुर्‍याउन नसकिएको भन्दै नयाँ युवा पिँढीमा एमालेको अभियान पुर्‍याउने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले अब जनतालाई युवा पिँढीलाई अभियानमा जोडेर उनीहरुलाई जिम्मेवारीमा सहित जनताको घरदैलोमा परिचालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले जनतालाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्ने पनि बताउनुभयो । अध्यक्ष ओलीले जनतालाई गलत प्रभावमा पार्नेले गलत बाटोमा हिँडाउन सक्छ त्यसैले भ्रमबाट मुक्त गरेर गलत बाटोमा जान नदिने र सही बाटोमा हिँडाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.