पाकिस्तानका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारको अभियोगमा पक्राउ, तीन वर्ष कैदको फैसला

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको अभियोगमा तीन बर्षको सजाय सुनाइएलगत्तै शनिबार लाहोरस्थित उहाँकै घरबाट पक्राउ गरिएको प्रहरी र अधिकारीहरूले बताएका छन् ।

गत वर्ष अविश्वासको प्रस्तावमा सत्ताच्युत भएयता पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टारसमेत रहेका खानले आफुविरूद्धको सजाय राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताउनुभएको थियो । शनिबार सजाय सुनाइँदा उहाँ अदालतमा उपस्थित हुनुभएको थिएन ।

“न्यायाधीश हुमायूँ दिलावरले पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारमा संलग्नता रहेको ठहर भएको आदेश सुनाउनुभएको छ,” पाकिस्तानी टेलिभिजनले जनाएको छ । फैसला लगत्तै प्रहरीले लाहोरस्थित खानको घरमा पसेर उहाँलाई पक्राउ गरेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका विशेष सहायक अताउल्लाह तरारले खानको पक्राउबारे पुष्टि गर्दै भन्नुभयो, “मैले भर्खरै खानलाई पक्राउ गरिएको जानकारी पाएको छु ।”

गत मे महिनामा खानलाई इस्लामाबादमा भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो र केही समयका लागि हिरासतमा राखिएको थियो । पूर्व प्रधानमन्त्री खानको पक्राउलाई लिएर उहाँको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका समर्थकहरू सडकमा ओर्लिएका थिए र प्रहरीसँग झडप गरेका थिए ।

दलको आन्दोलनको दवाबपछि तीन दिन हिरासतमा बसेपछि रिहा भएका पीटीआई अध्यक्षलाई हजारौं पक्राउ, धम्की र प्रेसको दमनको रिपोर्टसहित कारबाहीको निशाना बनाइएको छ ।

शनिबार उहाँलाई पक्राउ गरिएको मुद्दा उहाँका सहयोगीमार्फत् उहाँ प्रधानमन्त्री रहेको समयमा भएको लेनदेनमा केन्द्रित छ ।

खानको कानुनी टोलीले तत्काल अपिल दायर गर्ने बताएको छ । टोलीका एक सदस्यले भन्नुभयो, “मुद्दामा साक्षीलाई उपस्थित गराउने कुनै मौका दिइएको थिएन, न त बहसका लागि समय दिइएको थियो । हामी फैसलाविरूद्ध पुनरावेदन गर्नेछौँ ।” खानले लामो समयदेखि यस वर्षको अन्त्यअघि हुने निर्वाचनमा भाग लिन नदिन आफूलाई पक्राउ गर्ने षड्यन्त्र भइरहेको बताउँदै आउनुभएको थियो ।

पाकिस्तानमा आगामी दुई हप्तामा संसद् विघटन हुने सम्भावना छ र नोभेम्बरको मध्य वा त्योभन्दा अघि नै राष्ट्रिय निर्वाचन हुनेछ ।

खान सन् २०१८ मा लोकप्रिय समर्थनको लहर, भ्रष्टाचार विरोधी घोषणापत्र र शक्तिशाली सैन्य प्रतिष्ठानको समर्थनमा सत्तामा पुग्नुभएको थियो ।

गत वर्षको अप्रिलमा उहाँलाई पदच्युत गर्दा विश्लेषकहरूले उहाँले शीर्ष जनरलहरूको समर्थन गुमाएका कारण पदच्युत गरिएको बताएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.