गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा क्रिकेट प्रतियोगिता सुरु

चितवन- चितवन धुर्मुस-सुन्तली फाउण्डेसनले जनसहभागिताबाट निर्माण गर्ने भनेर बीचमै अलपत्र छोडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा क्रिकेट प्रतियोगिता सुरु गरिएको छ ।

बागमती प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३९ प्रतिशत लागत साझेदारीमा झारपातले छापेर जंगल बनेको रंगशालामा झाडी फाडेर सफा गरिएपछि क्रिकेट खेलाउन थालिएको हो । अलपत्र परेको लामो समयसम्म काम अघि नबढ्दा कुरुप भएको रंगशालामा झाडी फाँड्ने काम भने जारी नै छ ।

झाडी फाडेर चिटिक्क बनाइएको रंगशालाको नमुना मैदानमा बागमती प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच बलिङ्ग र ब्याटिङ गरेर भरतपुर महानगरकी नगरप्रमुख रेनु दाहालले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख दाहालले एक महिनाभित्र रंगशाला निर्माणको काम सुरु हुने बताउनुभयो । रंगशालामा उठेको जग्गा विवादबारे बोल्दै उहाँले भन्नुभयो, ‘जग्गाको विषय हामीले केही हप्ताभित्रै टुंग्याउछौँ,’ ‘रंगशाला चितवनको मात्र नभई देशकै गौरव हो, यसको निर्माण सम्पन्न गर्नु महानगरसहित सम्पूर्ण नगरवासीको त्यत्तिकै तदारुकता आवश्यक छ ।’

मेयर दाहालले रंगशालाको कामलाई अगाडि बढाउन प्राविधिक टोलीले मूल्यांकन गर्ने काम गरिरहेको र रंगशालाको गुरुयोजना बनाएको टिमले पनि यसको खाका उपलब्ध गराउने जानकारी दिनुभयो । महानगरपालिका टेण्डर डकुमेन्ट तयार गर्न सबै प्रक्रिया पूरा गरेर अघि बढिरहेको उहाँको भनाइ छ ।

राष्ट्रिय गौरवको योजनामा समेत समावेश भएको रंगशालाको काम सुरु गर्न लाग्दा फेरि विवाद झिकिएको भन्दै उहाँले ‘रंगशालाको काम सुरु गर्नुपर्छ भनेर लाग्दै गर्दा विश्वविद्यालयमा आन्दोलन भयो रे भन्ने सुनेको छु, यो दुःखद कुरा हो’, उहाँले भन्नुभयो, ‘यसप्रति चितवनवासी र विशेषगरी भरतपुर महानगरवासी गम्भीर बन्न आवश्यक छ ।’

अलपत्र अवस्थामा रहेको रंगशालाको बाँकी काम अगाडि बढाउन पहिलो चरणमा ७५ करोड रुपैयाँ बराबरको काम हुँदैछ । ७५ करोड रुपैयाँमध्ये बागमती प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरको ३० प्रतिशत लगानी रहनेछ ।

उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले नेपालले अहिले क्रिकेटमा उल्लेख्य प्रगति गरिरहेको र महिला क्रिकेट टिमलाई पनि अब्बल बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

नमुना मैदानमा भएको उद्घाटन खेलमा भक्तपुरलाई काठमाडौँले ९४ रनले पराजित गरेको गर्‍यो । १३७ रनको लक्ष्य पछ्याएको भक्तपुरले १४.५ ओभरको समाप्तिमा १० विकेट गुमाउँदै ४२ रनको योगफल मात्रै जोड्यो । काठमाडौंले २० ओभर नै खेलेर चार विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

चितवनको भरपुरमा प्रतियोगिताको उद्घाटन गरिए पनि यहाँ १० वटा खेल मात्र हुनेछन् । बाँकी छवटा खेल भने काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानमा खेलिनेछन् । यो प्रतियोगिताबाट छनोटमा परेका खेलाडीलाई आगामी पुस १ गतेदेखि सञ्चालन हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता र बागमती खेलकुद परिषद्ले फागुन २४ गतेदेखि सञ्चालन गर्ने प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद २०८० मा सहभागी गराइने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.