जिल्लामा नै मिनिरल वाटर उद्योग सञ्चालन भएपछि शुद्ध पिउने पानीकाे सहजता
धनकुटा- धनकुटामा मिनिरल वाटर उद्योग सञ्चालन भएपछि जिल्लामा शुद्ध पिउने पानी उपभोग गर्न सहज भएको छ । धनकुटा नगरपालिका–६ स्थित पात्लेखोलामा धनकुटा एग्रो टुरीजम एण्ड फन भ्यालीले मिनिरल वाटर उद्योग सञ्चालनका ल्याएपछि शुद्ध पिउने पानीका लागि सहजता भएको हो ।
बाहिरी जिल्लाबाट आएको मिनिरल वाटर उपभोग हुँदै आएको धनकुटामा थोपा र मुल्को नामक प्रशोधित पानी बिक्री वितरण सुरु भएपछि यसको उपभोक्तासमेत बढेका छन्।
पहाडि भेगबाट प्रशोधन हुने र अर्गानिक मुहानको पानीको माग बढ्दो रहेकोछ। मुहानको पानी भएकाले आफैमा स्वच्छ भएको र शुद्धता ल्याउन बजारको मागअनुसार प्रशोधन गरेर बिक्री गर्न थालिएको सञ्चालक डिकबहादुर गिरीले बताउनु भयो।
धनकुटामा सञ्चालित सानाठूला सबै किसिमका होटल तथा पसलमा प्रशोधित पानीको माग हुने गरेको छ। यस अघि धनकुटामा तराईबाट आएको पानी प्रतिलिटर २० देखि ३५ रुपैयाँमा खरिद-बिक्री हुने गरेका थियो। हाल धनकुटाकै उद्योगबाट प्रशोधित पानी थोक मूल्यमा पाउन थालिएको छ।
उद्योगले जार तथा बोतलमा पानी बिक्रि गर्दै आएको छ। बाहिरीजिल्लाबाट पानी खरिद गर्दा ढुवानी लगायतका कारण महंगो पर्ने र जिल्लामै उत्पादन हुँदा सहज भएको व्यवसायी दीपक श्रेष्ठले बताउनु भयो ।
होटल तथा पसल बाहेक सभा, समारोह, गोष्ठीलगायतमा समेत उपभोग हुँदै आएको प्रशोधित पानीको पछिल्लो समय माग पनि बढेको छ।
२०७७ सालमा ३ करोड लगानीमा धनकुटा एग्रो टुरीजम एण्ड फन भ्यालीले मिनिरल वाटर उद्योगले सदरमुकाम लगायत आसपासका क्षेत्रमा पानी निर्यात गर्दै आएको छ।।
प्रतिक्रिया राख्नुहोस्