नेवार समुदायले आज योमरी पुन्ही मनाउँदै, आजै ज्यापु दिवस

काठमाडौं- नेवार समुदायले विशेष महत्वका साथ आज योमरी पुन्ही अर्थात् योमरी पूर्णिमा मनाउँदैछन् । आज विशेष प्रकारको परिकार योमरी बनाएर खाने गरिन्छ ।

नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मंसिर महिनाको शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । योमरी पुन्हीमा तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार योमरी खाने गरिन्छ ।

धान्य पूर्णिमाको साँझ टोलटोलमा रमाइलो गर्दै केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन पनि रहीआएको छ ।

आजै नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरी चढाउने गरिन्छ ।

योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने विश्वास गरिन्छ । आजकै दिनलाई काठमाडौं उपत्यकाका ज्यापु समुदायले ‘ज्यापु दिवस’का रुपमा पनि मनाउने चलन छ ।

‘ज्यापु दिवस’ का अवसरमा नेवाः संस्कृति, बाजागाजा, वेशभूषा आदिलाई जगेर्ना गर्न विभिन्न सांस्कृतिक झाँकी निकाल्ने गरिन्छ । मौलिक बाजा धिमेको तालमा यो अवसरमा निकालिने अद्भुत झाँकीले नेपालभित्र प्रचलनमा रहेको रैथाने रीतिरिवाज र परम्परालाई जीवन्त राख्न सहयोग गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.