तीनवटै तह समन्वय र सहकार्य गरी अगाडी बढौंः मुख्यमन्त्री जम्कट्टेल

काभ्रे- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तीन वटै तह समन्वय र सहकार्य गरि अगाडी बढ्नुपर्ने बताउनु भएको छ । विकास ठूला र राष्ट्रिय गौरवका आयोजना संघीय सरकारले गर्ने, मझौला आयोजना प्रदेशले गर्ने र साना आयोजना स्थानीय तहले गर्ने प्रष्ट व्यवस्था भएको भन्दै उहाँले त्यसमा समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेश मुख्यमन्त्री परिषद्को कार्यालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आयोजनामा काभ्रेको धुलिखेलमा भएको ‘प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध, योजना तर्जुमा र कार्यान्वयन सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री जमकट्टेलले स्थानीय सरकारलाई कमजोर बनाउने नभई झन् बलियो बनाउँदै लैजानका लागि प्रदेश सरकार लागिरहेको उल्लेख गर्नुभयो ।

उहाँले शिक्षा, कृषि, स्वास्थ्य र अन्य आयोजनाहरुको बारेमा स्थानीय तहहरुमा भइरहेका अधुरा, अलपत्र तथा बजेट अभावका कारण काम नभएको अवस्था भएमा तत्काल अध्ययन गरी अनुगमन प्रतिवेदन पेश गरेर सम्पन्नतातर्फ अगाडी बढ्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जनप्रतिनिधिहरुले गुनासोको कुरा बढी उठाउने र अधिकारको मात्रै खोजी गरिरहँदा नागरिकमा वितृष्ण पैदा हुँदै गएको भन्दै अब आशा र रचनात्मक काममा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले बागमती प्रदेश सरकारले तीन वटा नै तहका सरकारबीचमा कसरी समन्वय गरेर प्रभावकारी काम गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया थालनी गरेर समन्वय र सहकार्यको कामलाई अगाडी बढाएको बताउनुभयो ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख एवं नगरपालिका महासंघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले योजना निर्माण र कार्यान्वयनका लागि वैज्ञानिक ढंगले काम गर्न अन्तर्क्रिरया कार्यक्रमले थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिका राष्ट्रिय महासंघका सचिव एवं फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले तीन वटा नै तहका सरकार तथा प्रदेश र प्रतिनिधि सभाका प्रतिनिधिहरुबीचमा समन्वय गरेर काम गर्ने कानुन नहुँदा समस्या देखिएको भन्दै सबैबीच समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई आत्मासाथ गर्दै काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशका सचिव प्रकाश दाहाल, ईन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष झम्कनाथ नेपाल र कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख उपेन्द्र कुमार पोखरेल लगायतले प्रदेश र संघबाट पालिकास्तरमा सञ्चालन हुने कुनैपनि योजनाहरुको समन्वय नहुँदा अनियमितता र अलपत्र भएको तथा पारदर्शिता नहुने भन्दै समन्वय र सहकार्यमा काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा १३ जिल्लाका पालिका प्रमुख र प्रशासकीय प्रमुख तथा विषयगत कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो। १३ जिल्लाका पालिका प्रशासकीय प्रमुख र विषयगत कार्यालयका प्रमुखहरूले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.