प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि नेपाल पुलिसलाई

काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनल प्रतिस्पर्धामा अरकोले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउदै पुलिसले उपाधि जितेको हो ।

अपराजित रहँदै प्रतियोगिता टुङ्ग्याएको पुलिसले उपाधिसँगै १० लाख रुपैंया पुरस्कार जितेको छ । उपविजेता बनेको आर्मीले पाँच लाख रुपियाँ पुरस्कार पायो ।

तेस्रो पटक च्याम्पियन बनेको पुलिसले आर्मीले दिएको एक सय ८२ रनको लक्ष्य ३७ ओभर ५ बल खेल्दै चार विकेटको क्षतिमा पूरा गर्यो । पुलिसको जितमा शंकर रानाले अविजित ६२ रन बनाए । यसैगरी अर्जुन साउदले ३६, अमित श्रेष्ठले २८, आरिफ शेखले अविजित २७ र दीलिप नाथले २४ रन बनाए ।

बलिङमा आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, साहब आलम र बसिर अहमदले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ४९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८१ रन बनाएको थियो । आर्मीका लागि विवेक यादवले ६३ रन बनाए ।

यस्तै सोमपाल कामीले ३९, इमरान शेखले २८ र कुशल मल्लले १७ रन बनाएका थिए । बलिङमा पुलिसका ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले तीन तीन विकेट लिए । सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक एक विकेट लिए । प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशगरी १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.