बेलायतमा कोभिड-१९ को नियम तोड्नेलाई १० हजार पाउण्डसम्म जरिवाना गरिने
कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने भएको छ । नयाँ व्यवस्था अनुसार ‘सेल्फ आइसोलेसन’को आदेशलाई तोड्ने आफ्ना नागरिकलाई बेलायती सरकारले १० हजार पाउन्ड (झण्डै १५ लाख नेपाली रूपैँया) सम्म जरिवाना गर्ने बताइएको छ ।
बेलायतमा शनिबार मात्र करिब चार हजार ५०० नयाँ सङ्क्रमित भेटिएका थिए भने २७ जनाको मृत्यु भएको थियो । पछिल्ला केही हप्ताको अवधिमा सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।
सेप्टेम्बर २८ तारिख यता कोरोना सङ्क्रमित व्यक्ति र सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्ने व्यवस्था गरिएको हो । सरकारले कम आय श्रोत भएकालाई ५०० पाउण्डको आर्थिक सहयोग दिने पनि जनाइएको छ ।
नयाँ व्यवस्था अनुसार सेल्फ आइसोलेशनमा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ । पटक पटक यो नियम उल्लङ्घन गर्नेका लागि यो जरिवाना १० हजार पाउन्ड सम्म पुर्याइएको हो । यसअघि सेल्फ आइसोलेसनलाई एक निर्देशनका रुपमा मात्रै लागू गरिएको थियो ।
इङ्गल्याण्डका लागि नयाँ नियमहरू घोषणा गर्दै प्रधानमन्त्री जोनसनले भाइरससँग लड्ने सबैभन्दा उत्तम उपाय भएकोले सबैले नियमको पालना गर्नुपर्ने बताउनुभयो ।
बेलायतको खासगरी इङ्ल्याण्ड क्षेत्रमा महामारीको अवस्थामा कमी आएको बताउँदै सरकारले गत महिनादेखि महामारी नियन्त्रणका उपायलाई हदैसम्म खुकुलो पारिएको थियो ।-
प्रतिक्रिया राख्नुहोस्