सरकारसँग जनताको समस्या समाधान गर्ने सामर्थ्य र योजना देखिएन

सडकदेखि सदनसम्म संघर्षका कार्यक्रम घोषणाको तयारीमा एमाले

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  सरकारको एक बर्षे कार्यकाल हेर्दा सरकार असफल भएको बताउनु भएको छ ।

मंगलबारबाट पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्नुले सरकार असफल भएको पुष्ठी हुने जिकिर गर्नु भएको हो ।

‘मैले त एक वर्षको समीक्षा प्रधानमन्त्रीले गरिरहँदा जम्माजम्मी एउटा निष्कर्ष सुने–केही गर्न सकिएन । अब सप्रिन्छु, अब गर्न कोसिस गर्छु, सप्रिन्छु आदि । केही पनि गर्न सकिन भन्ने निष्कर्ष नै हो । अरु केही छैन । सरकार असफल भएको छ । यस सरकारको असफलताले गर्दा देश गरिबीतिर जाँदो छ । अराजकतातिर जाँदो छ । जनतामा असन्तुष्टि बढदो छ । असन्तुष्टिले आक्रोशको रूप लिइराखेको छ,’ ओलीले भन्नु भयो ।

सुशासन, भ्रष्टाचार अन्त्य र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनैपनि योजना सरकारसंग नभएको ओलीको टिप्पणी छ ।

संक्रमणकालिन न्याय सम्बन्धि विधेयक पीडितमैत्री हुनुपर्नेमा आफ्नो जोड रहेको भन्दै ओलीले राष्ट्रिय सभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौं भन्ने प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको पटकपटकको प्रस्तावमा विधेयक पीडितमैत्री हुनुपर्ने आफ्नो अडानकै कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको पनि बताउनुभयो ।

तिन दिन सम्म चल्ने बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा गर्नुकासाथै तथा पार्टीको शुद्धीकरण र सुदृढीकरणकालागि सञ्काचालन गरिने कार्यक्रमका बारेमा छलफल गरिने एमालेले जनाएको छ ।

बैठकमा तीनवटा प्रस्ताव पेश भएका छन् । पार्टी बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धिकरण तथा सुदृढिकरण,उपाध्यक्ष विष्णु प्रसाद पौडेलले जनआधारित कार्यकर्ता र पार्टी निर्माणका चुनौति र महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समिक्षाको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्नुभएको छ ।

बैठकबाट एमालेले गठबन्धन सरकारविरुद्ध सडकदेखि सदनसम्म संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.