नेपाल टेलिभिजनबाट वैदेशिक रोजगार सम्बन्धी कार्यक्रम परिष्कृत र परिमार्जनसहित सुरु हुँदै

काठमाडौं- नेपाल टेलिभिजनबाट वैदेशिक रोजगार सम्बन्धी “रोजगार हाम्रो सरोकार” नामक कार्यक्रम उत्पादन एवं प्रसारण गरिने भएको छ ।

विगत २ वर्षदेखि वैदेशिक रोजगार सम्बन्धी प्रसारण हुँदै आएको उक्त कार्यक्रम कोभिड-१९ महामारीले वैदेशिक रोजगारमा पुर्‍याएको सन्दर्भमा परिष्कृत र परिमार्जन गरी संचालन गर्न लागिएको हो ।

नेपाल टेलिभिजन र वैदेशिक रोजगार बोर्डबीच यस सन्दर्भमा सम्झौता भएको छ। कार्यक्रमलाई निरन्तरता दिने सम्बन्धी सम्झौतामा वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र नेपाल टेलिभिजनका निमित्त महाप्रवन्धक विष्णुराम न्यौपानेले हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षर कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले वैदेशिक रोजगारीबाट फर्किनेको संख्या बढिरहेको अहिलेको सन्दर्भमा उनीहरूलाई सुरक्षित रूपमा स्वदेश ल्याउने, समाजमा पुनर्स्थापित गर्ने र स्वदेशमै रोजगारीको वातावरण बनाउने जस्ता विषयवस्तु नेपाल टेलिभिजनको पनि प्राथमिकतामा रहेको बताउनु भयो ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम गुणस्तरीय र दर्शकले पनि मन पराएको हुँदा यसलाई बोर्डले निरन्तरता दिन चाहेको बताउनु भयो ।

नेपाल टेलिभिजनका निमित्त महाप्रबन्धक विष्णुराम न्यौपानेले विषयवस्तुमा सुधार गर्दै आफ्नो पहुँच विस्तार गर्ने कार्यलाई नेपाल टेलिभिजनले अभियानका रूपमा अघि बढाएको वताउनुभयो ।

निमित्त नायवमहाप्रवन्धक आरती चटौतले परिवर्तित परिस्थितिमा रोजगारीका विषयहरूलाई सरकारका विभिन्न तहसँग जोड्न सकेमा थप प्रभावकारी हुनसक्ने विचार व्यक्त गर्नुभयो ।

“रोजगार हाम्रो सरोकार” कार्यक्रम नेपाल टेलिभिजनबाट हरेक हप्ता शुक्रबार साँझ ७ः२५ मा प्रसारण हुँदै आएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.