झिनो अङ्कले घट्यो नेप्से, बन्द उद्योगको समेत सेयर कारोबार

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरोलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक आज २.६२ ले घटेर एक हजार ४६२.४८ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.२२ ले घटेर ३०७.३१ मा पुगेको छ । स्टकका अनुसार कूल १८७ कम्पनीको ४२ लाख ५७ हजार १६१ कित्ता सेयर रु एक अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ मूल्यमा खरिद बिक्री भए ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक ४.१८, उत्पादन ५.०३, अन्य ५.७१ र लघुवित्त १२.४६ ले उकालो लागेको छ । यस्तै, बैंकिङ १.२५, व्यापार ७.०७, होटल ३२.९१, जलविद्युत् २.५९, वित्त ०.९४ र निर्जीवन बीमा १५०.४१, जीवन बीमा ८८.७७ र सामूहिक लगानी कोष ०.०१ ले घटेका छन् ।

बन्द उद्योगको सेयर कारोबार

सेयर बजारमा आज एउटा रमाइलो घटनाक्रम भने देखियो । उद्योग बन्द गर्ने सूचना दिएको श्रीराम सुगर मिल्सको सेयरमा लगानीकर्ताका आकर्षण देखियो ।

आज बिहान नेप्सेलाई उद्योग बन्द भएको सूचना दिएको सो उद्योगको सेयर प्रतिकित्ता ३३८ मा कारोबार भयो । आज सो उद्योगको सेयर प्रतिकित्ता रु १६ ले वृद्धि भयो ।

प्रतिकित्ता रु ३२२ मा कारोबार शुरु भएको सो कम्पनीको सेयरमा एकाएक वृद्धि भई ३३८ पुग्यो तर उद्योग बन्द भएको सूचना भने यसअघि नै सार्वजनिक भइसकेको थियो ।

जानकारहरुका अनुसार उद्योगले चर्चेको जग्गा बिक्री गरी उखु किसान, कर्मचारीलगायत अन्यलाई समेत भुक्तानी गर्ने तयारी गरेको भन्ने हल्ला बजारमा फैलिएसँगै श्रीराम सुगर मिल्सको सेयरमा वृद्धि भएको हो ।

कर्मचारीलाई तलबभत्तासम्म खुवाउन नसकेको भन्दै उद्योगले आइतबारदेखि बन्द भएको नेप्सेलाई जानकारी दिएको छ । आव २०७५-७६ सम्म कम्पनीको कूल घाटा रु दुई अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ पुगेको छ ।

नेपालको पुरानोमध्येको एक श्रीराम सुगर मिल्स बन्द भएपछि रौतहट आसपासका किसानलाई भने आफूले लगाएको उखु बिक्री गर्न समस्या देखिएको छ । मङ्गलबारदेखि भने सो कम्पनीको सेयर नियमित कारोबार हुनेछैन ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.