सौराहाका होटल खुलेसँगै चहलपहल शुरु

चितवन- चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल बिहीबारबाट खुलेसँगै चहलपहल शुरु भएको छ । होटलमा पर्यटक आउन शुरु गरेका छन् भने रेष्टुरेण्टमा ग्राहक देखिन थालेका छन् ।

जङ्गल वाइल्डलाइफ क्याम्पका सञ्चालक नारायण भट्टरार्ईले होटल खुलेकै दिन दुई विदेशी पर्यटक आएको बताउनुभयो । होटलको सरसफाइ, मर्मत सम्भारसँगै उच्च सावधानीका साथ पाहुनाको स्वागतमा व्यवसायी जुटेको क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष रहनुभएका भट्टरार्ईले जानकारी दिनुभयो ।

जङ्गल सफारी लजमा पनि आज तीन वटा कोठा बुकिङ भएको सञ्चालक सुमन घिमिरेले बताउनुभयो । सङ्घका निवर्तमान अध्यक्ष घिमिरेले होटल खुलेसँगै बिहीबारबाट चहलपहल बढेको बताउनुभयो । स्थानीय र आसपासका क्षेत्रबाट चार महिनापछि खुलेको सौराहा हेर्न मानिस आएको उहाँले जानकारी दिनुभयो । सौराहामा ११० होटल सञ्चालनमा छन् ।

क्रमशः पर्यटक बढ्दै गएपछि कर्मचारी थप गर्दै लैजाने तयारी गरिएको छ । सौराहामा होटलमा प्रत्यक्षरूपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।

लकडाउनसँगै अधिकांश कामदारलाई होटलले छुट्टी दिएका थिए । होटल तथा रेष्टुरेण्ट खुलेसँगै व्यवसायीले आफ्ना कामदारलाई बोलाएर नियमित काममा लगाउन थालेका हुन् ।

सरकारले यही साउन १५ गतेदेखि देशभरका होटल तथा रेष्टुरेण्ट विशेष सावधानी अपनाएर खोल्ने निर्णय गरेसँगै सौराहाका होटल खुलेका हुन् ।

होटल खुल्यो निकुञ्ज खुलेन

सौराहाका होटल सञ्चालनमा आए पनि त्यहाँ आएका पर्यटकहरु घुम्नका लागि जाने चितवन राष्ट्रिय निकुञ्ज भने खुलेको छैन । लकडाउनसँगै निकुञ्जका सबै गतिविधि बन्द गरिएको थियो । बर्सातको समयमा निकुञ्जभित्र जिप सफारी रोकिने भए पनि अन्य गतिविधि रोकिँदैन ।

सौराहा आउने पर्यटक हात्ती चढेर स्थानीय सामुदायिक वनमा रमाउने, राप्ती नदीमा डुङ्गा चढ्ने, जङ्गलमा पैदल यात्रा गर्ने गर्दछन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.