याङवरकको डिजिटल यात्रा

पाँचथर- पाँचथरको याङवरक गाउँपालिका–४ थर्पू बजारमा सञ्चार तथा प्रविधिसम्बन्धी व्यवसाय गर्ने सुमन अधिकारीको पहलमा उक्त क्षेत्रमा नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डको सेवा केही महिना अघिबाट सञ्चालनमा आयो । यसअघि यहाँ एडिएसएल, सुविसु, वल्र्डलिङ्कलगायतका कम्पनीले सेवा प्रदान गर्दै आए पनि स्थानीयवासी सन्तुष्ट थिएनन् । सबै सेवा प्रदायकको सेवाको गुणस्तर भने कमजोर रहेको स्थानीयको गुनासो छ । कहिले सबै कम्पनीको सेवा प्रभावकारी हुन्छ भने कहिले इन्टरनेटको पहुँच नै नभएजस्तो अनुभूति गर्छन् स्थानीयवासी ।

इन्टरनेट सेवा कमजोर रहेको थर्पू बजारमै सेवा केन्द्र रहेको याङवरक गाउँपालिका भने गाउँपालिकाअन्तर्गतका सेवा प्रवाहलाई क्रमशः अनलाइन प्रणालीमा रुपान्तरण गर्दै डिजिटल गाउँपालिका निर्माणको अभियानमा अघि बढ्दैछ । याङवरकले विभिन्न १० वटा सेवालाई अनलाइन प्रणालीमा लैजादै डिजिटल गाउँपालिका निर्माणको आधार तयार पारेको हो ।

इन्टरनेटको कमजोर पहुँचका अतिरिक्त भौगोलिक कठिनाई, विद्युतीय सामग्री व्यवस्थापन अभाव तथा दक्ष प्राविधिक जनशक्तिको अभाव जस्ता समस्यासँग जुध्दै डिजिटल गाउँपालिका र अनलाइन सेवा प्रवाह प्रणाली निर्माण अभियानलाई सार्थकता दिन कर्मचारी, प्राविधिक र जनप्रतिनिधिहरु मेहनत गरिरहेका छन् ।

परिणामतः गाउँपालिकामा कार्यालयको आन्तरिक प्रणाली, सेवा प्रवाह र विकास निर्माणका काममा प्रविधिको अधिकतम प्रयोग पनि बढ्दै गएको छ ।

यो गाउँपालिकाले विसं २०७४ बाटै ब्यक्तिगत घटना दर्ता सेवा पूर्ण रुपमा अनलाइन प्रणालीमा लगेको छ । याङवरक २०७४ माघ २९ गते मुलुकको सातौँ अनलाइन घटना दर्ता गाउँपालिका घोषित भएको थियो ।

सोही समयदेखि नै गाउँपालिकाका छवटै वडाबाट ब्यक्तिगत घटना दर्तालाई पूर्णरुपमा अनलाइन बनाइएको गाउँपालिकाका कम्प्युटर अपरेटर गणेश खतिवडाले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकबाट सामाजिक सुरक्षा भत्तालाई पूर्ण रुपमा अनलाइन प्रणालीमा लगिएको छ । वडा नं ४, ५ र ६ मा आर्थिक वर्ष २०७४÷०७५ को दोश्रो चौमासिकबाट उक्त प्रणाली लागू गरिएकामा बाँकी तीन वटा वडामा चालू चौमासिकमा लागू गरिएको हो ।

गाउँपालिकाको विद्युतीय सेवा प्रणाली कार्यान्वयन रणनीतिअनुसार याङवरक–४ थर्पूमा रहेको सिभिल बैंकको शाखासँग गाउँपालिकाले बैङ्किङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार भत्ता प्राप्त गर्ने लाभग्राहीहरुमध्ये करीब ९८ प्रतिशतको बैंक खाता सञ्चालनमा आएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यका अनुसार बैंकले वडाहरुमा भत्ता वितरण शिविर सञ्चालन गर्नेछ । यसका लागि गाउँपालिकाको सहयोग उपलब्ध गराउने छ ।

शिविरमा भत्ता प्राप्त गर्ने ब्यक्तिहरु उपस्थित हुन नसके इच्छाइएको ब्यक्तिले भत्ता बुझ्न सक्नेछन् ।

याङवरकमा अनलाइन जन्मदर्ता प्रणाली ‘बर्थ रजिष्ट्रेसन सिस्टम’ (बीआरएस) पनि लागू भएको छ । यो प्रणालीअन्तर्गत बर्थिङ सेन्टरमा जन्मिएका शिशुहरुको जन्मसम्बन्धी विवरण राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा अनलाइन दर्ता गरी प्रमाणपत्र दिइन्छ ।

बच्चा जन्मेपछि जन्मको तथा आमाबुबाको विवरण भर्ने गरिन्छ । विवरण भरेपछि उक्त बच्चाले एउटा नम्बर प्राप्त गर्दछ । त्यही नम्बरका आधारमा जन्मदर्ताको प्रमाणपत्र उपलब्ध गराइन्छ । राष्ट्रिय परिचपयत्र कार्यान्वयनमा आएपछि बीआरएस प्रणाली अनिवार्य हुनुपर्ने देखिए पनि याङवरकले गत साउनबाट उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

याङवरकमा रहेका पाँच वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहेको र यी सबै स्थानमा बीआरएस प्रणाली लागू भएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले जानकारी दिनुभयो ।

राजश्व सङ्कलन बढाउने तथा चुहावट रोक्ने उद्देश्यले गाउँपालिकाले राजश्व सङ्कलनको कामलाई अनलाइन प्रणालीमा लगेको छ । गाउँपालिकाभित्र राजश्व सङ्कलनका लागि हुने सबै कामको विवरण अनलाइन प्रणालीमा दर्ता गरिन्छ ।

राजश्व योग्य प्रत्येक दर्ता चलानीबारे सफ्टवेयरमा अपडेट गर्नेवित्तिकै राजश्व दाखिलासम्बन्धी जानकारी सफ्टवेयरमा सुरक्षित हुन्छ र त्यो संशोधन गर्न मिल्दैन । आफ्नै खर्चमा यो सफ्टवेयर निर्माण गरी गाउँपालिकाले कार्यान्वयनमा ल्याएको हो ।

गाउँपालिका प्रशासनले दैनिक रुपमा राजश्व सङ्कलनको अवस्था थाहा पाउन सक्ने कम्प्युटर अपरेटर खतिवडाको भनाई छ । यो प्रणाली गत साउनबाट कार्यान्वयनमा आएको हो ।

गाउँपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र तथा अपाङ्गता परिचयपत्र समेत अनलाइन प्रणालीबाटै तयार पार्ने गरेको छ । गाउँपालिकाको सफ्टवेयरमा दर्ता भएपछि परिचयपत्र छपाई हुनुका साथै उनीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भए सो सम्बन्धी विस्तृत विवरण यहाँ रहन्छ ।

गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा रहेको अपाङ्गता समन्वय समितिको सिफारिसपछि अपाङ्गता परिचयपत्र तयार हुन्छ भने ज्येष्ठ नागरिक परिचयपत्र सम्बन्धित सेवाग्राहीको निवेदनपछि तयार हुन्छ ।

याङवरक गाउँ कार्यपालिकाको कार्यालयमा डिजिटल सूचना पार्टी राखिएको छ ।

गत चैतबाट सञ्चालनमा आएको उक्त सूचना पार्टीमा गाउँपालिकासँग सम्बन्धित सम्पूर्ण जानकारीमूलक विवरणहरु, गाउँपालिकाबाट प्रवाह हुने सेवा, सेवा दिने इकाई तथा कर्मचारी, गुनासो राख्ने स्थान तथा कर्मचारी लगायत विस्तृत विवरण राखिएको छ ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु, कर्मचारीहरु लगायतको सम्पर्क नम्बर पनि डिजिटल सूचना पार्टीमा प्रकाशन हुन्छ ।

गाउँपालिकाको मुख्य चापको रुपमा रहने विकास निर्माणका योजना सञ्चालनका कामलाई पनि अनलाइन प्रणालीमा रुपान्तरण गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत आचार्यका अनुसार उपभोक्ता समितिका विवरणहरु, वडाले उपभोक्ता समितिलाई दिने सम्झौताको सिफारिस, गाउँपालिकाको योजना शाखाले उठाउने टिप्पणी, योजना सम्झौता र सञ्चालन कार्यादेश, पेश्की दिनुपर्ने भएको सोको टिप्पणी, पेश्कीको पत्र, रनिङ विलहरु लगायत सबै कुरा सफ्टवेयरमा दर्ता हुन्छन् ।

यसले योजनाहरुको प्रगति थाहा पाउन, रिपोर्टिङ गर्न र कर्मचारी तथा प्राविधिकलाई कामको भार कम गर्न मद्दत गर्दछ । योजनाको एक पक्रिया पूरा भएपछि अर्को प्रक्रियामा जान सफ्टवेयरले मद्दत गर्ने कम्प्युटर अपरेटर खतिवडाको भनाई छ ।

गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका निकायहरुमा इ–हाजिरीलाई विस्तार गर्दै लगेको छ । गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु र सातवटै स्वास्थ्य संस्थाहरुमा इ–हाजिरी सञ्चालनमा आएको छ ।

यस्तै १८ वटा विद्यालयमा इ–हाजिरी सञ्चालनमा आएको र अन्य विद्यालयमा निरन्तर विस्तारको क्रममा रहेको गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिकाले मातहतका निकायमा अनलाइन पत्राचार प्रणाली र ‘ग्रुप एसएमएस’ प्रणाली लागू गरेको छ ।

अनावाश्यक पत्र लेख्ने, पु¥याउने झन्झटबाट मुक्त हुन उक्त प्रणाली सहयोगीसिद्ध भएको कम्प्युटर अपरेटर खतिवडाले बताउनुभयो । याङवरकमा कर्मचारी अभिलेख सूचना प्रणाली समेत कार्यान्वयनमा ल्याइएको छ ।

कर्मचारीका पूर्ण विवरण राखी नियुक्तिदेखि अवकाससम्मको विस्तृत विवरण अनलाइन प्रणालीमा सुरक्षित गरिएको छ ।

गाउँपालिकाले विद्यालय सफ्टवेयर सञ्चालनमा ल्याउने तयारी गरेको छ । उक्त सफ्टवेयर आगामी तिहारसम्ममा कार्यान्वयनमा आउने प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो ।

उहाँका अनुसार विद्यालय सफ्टवेयरमा विद्यालयका सम्पूर्ण प्रशासनिक कागजात, विद्यार्थीसम्बन्धी विवरणहरु, लब्धाङ्कपत्र लगायत कागजातहरु राखिनेछन् । यसले विद्यालय प्रशासन र गाउँपालिकाको शिक्षा शाखालाई काम गर्न सहज बनाउने आचार्यको भनाइ छ ।

गाउँपालिकाले प्राविधिक स्टिमेट र विलिङलाई अनलाइन बनाउने प्रणालीको खोजी शुरु गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत आचार्यका अनुसार प्रत्येक योजनाहरुको प्राविधिक स्टिमेट तयार भएपछि त्यसलाई अनलाइनमा राख्ने र त्यसैका आधारमा योजना कार्यान्वयन गर्ने कुराले अनावाश्यक विवाद उत्पन्न हुने, योजना परिवर्तन गर्नुपर्ने जस्ता समस्या हल हुने अपेक्षा गरिएको छ । “यससम्बन्धी सफ्टवेयरको खोजीमा छौँ । प्राप्त भए प्रयोगमा ल्याउछौँ”, आचार्यले भन्नुभयो ।

दशवटा अनलाइन प्रणाली लागू भए पनि तिनको प्रभावकारी कार्यान्वयन र निरन्तरतामा गाउँपालिकाले ठूलै चुनौती झेल्दै आएको छ । याङवरकमा एडिएसएल, सुविसु, वल्र्डलिङ्क र टेकमाइन्ड इन्टरनेट जडान गरिएका छन् ।

भौगोलिक अवस्थाका कारण कुनै पनि सेवा प्रदायकको सेवा प्रभावकारी र नियमित नहुँदा सेवाग्राहीले मार भोग्नु परेको प्रमुख प्रशासकीय अधिकृत आचार्यको भनाई छ । “अनलाइन प्रणालीमा गए पनि इन्टरनेटले राम्रोसँग काम नगर्दा सेवाग्राहीले दुःख पाउने अवस्था छ”, आचार्यले भन्नुभयो, “हामीले हाम्रा सबै जनशक्तिलाई अनलाइन सेवा प्रदान गर्न सक्षम बनाउनुपर्ने बाध्यता समेत छ ।”

गाउँ कार्यपालिकाको कार्यालयमा यन्त्र उपकरणको समस्या नभए पनि वडा कार्यालयहरुमा पर्याप्त उपकरण नहुँदा एउटामा समस्या आए वैकल्पिक प्रयोग गर्नसक्ने अवस्था छैन । इन्टरनेट, जनशक्ति र उपकरणलाई क्रमशः सवल बनाइने आचार्यले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङ डिजिटल गाउँपालिका निर्माणको अभियान रफ्तारमा अगाडि बढे पनि अनलाइन सेवालाई प्रभावकारी बनाउने, इन्टरनेट सेवाको पहुँच वडा नं १, २ र ३ मा विस्तार गर्ने कार्य चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले चुनौतीहरु रहे पनि डिजिटल गाउँपालिका निर्माणको अभियान अघि बढिरहने बताउनुभयो ।

“विशेषतः इन्टरनेट सेवाको पहुँच विस्तारका लागि माथिल्ला निकायको सहयोग खोजिरहेका छौँ”, योङहाङले भन्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.