श्रेष्ठको ‘काठमाडौँ–पेरिस–काठमाडौँ–रेल–बस यात्रा’ बजारमा

काठमाडौं- पर्यटन उद्यमी एवं नेपाल–फ्रान्स उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्याम मोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौँ–पेरिस–काठमाडौँ–रेल–बस यात्रा’ बजारमा आएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिय लेजे र पर्यटन उद्यमी एवं लेखक कर्ण शाक्यले संयुक्तरुपमा सो पुस्तकको विमोचन गर्नुभयो ।

‘साहसले डोर्‍याएको जिन्दगी’ उपशीर्षक रहेको यो पुस्तकमा लेखक श्रेष्ठले बाल्यकालदेखि जागिरे जीवन र आफूले झेल्नुपरेका आरोहअवरोहलाई रोचक ढङ्गले प्रस्तुत गर्नुभएको छ ।

सात दशक लामो जीवनयात्रामा आफूले भोगेका अनुभवलगायत विषय समेटिएको आफ्नो आत्मवृत्तान्तबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “काठमाडौँमा मैले आफ्नै जीवन बिताएँ, फ्रान्स बस्दा फ्रान्सेली जस्तै जीवनयापन गरेँ, फ्रान्स सरकारबाट उच्चस्तरको पदक पाउँछु भन्ने कल्पनासमेत गरेको थिइनँ, तर त्यहाँबाट सर्वोच्च पदकसमेत पाएँ ।”

लेखक श्रेष्ठले भावी पुस्ताले आफ्नो यात्राको अनुभूतिलाई शिक्षाको रुपमा लिने र सफल जीवन यापनमा पुस्तक सहयोगी बन्ने अपेक्षा समेत व्यक्त गर्नुभयो । नेपालटीभी अनलाइनसँग कुरा गर्नुहुँदै लेखक श्रेष्ठले जीवनमा आउने आरोह-अबरोह यात्राका क्रममा आउने विभन्न पाटाहरु जस्तै भएकोले यात्रा र जीवनलाई सँगै लैजाने जमर्को पुस्तकमा गरिएको बताउनुभयो ।

यसैगरी, शताब्दीपुरुष जोशीले प्रस्तुत पुस्तकबाट पाँच दशकअघिको नेपालको अवस्था, विश्वमा भएका परिवर्तन र नेपाल–फ्रान्स सम्बन्धका विविध आयामबारे मिहीन ढङ्गले वर्णन गरिएको बताउनुभयो ।

नेपालाका लागि फ्रान्सका राजदूत लेजेले फ्रान्स–नेपाल सम्बन्ध सुदृढ तुल्याउन नागरिकस्तरबाट उद्यमी श्रेष्ठले निर्वाह गर्नुभएको भूमिका अतुलनीय रहेको चर्चा गर्नुभयो।

उहाँले नेपाल–फ्रान्स व्यापार प्रवर्धनमा पनि लेखक श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा सराहना गर्नुभयो ।

पर्यटन उद्यमी कर्ण शाक्यले श्रेष्ठसँगका अनुभवबारे चर्चा गर्दै पर्यटन उद्योगको विकासमा पनि लेखक श्रेष्ठको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.