बूढीगण्डकी आयोजनाले मुआब्जा दिएको ठाउँमा प्राकृतिक श्रोतको दोहन

धादिङ- सरकारले मुआब्जा वितरण गरिसकेको बुढिगण्डकी जलविद्युत आयोजना प्रभावित स्थानहरुमा अबैध रुपमा प्राकृतकि श्रोतको उत्खनन् र दोहन ब्यापक भएको भन्दै त्यस्ता गतिविधि तत्काल बन्द गर्न र गराउन आयोजनाले आग्रह गरेको छ ।

स्थानीय तहहरुले राजश्व संकलन गर्ने निहूँमा अधिकरण क्षेत्रभित्र पनि खानीजन्य बस्तुहरु उत्खननको अनुमति दिँदा यस्तो अबस्था आएको हो ।

सरकारले यस्तो गतिविधिमा संलग्नहरुलाई कडा कारवाही गर्ने चेतावनी दिँदासमेत उत्खनन कार्य रोकिएको छैन ।

बुढिगण्डकी डुवान प्रभावित स्थानीयहरुले मुआब्जा लिइसकेका कारण त्यस्ता क्षेत्रबाट नदीजन्य बस्तु र अन्य प्राकृतिक श्रोतको उत्खनन् बन्द गर्न आग्रह गरिएको आयोजनाका प्रमुख कृष्ण बहादुर कार्कीले जानकारी दिनु भएको छ ।

तर सो क्षेत्रमा भने खानी उत्खननदेखि बालुवा प्रशोधन उद्योगहरु समेत निर्बिवाद सञ्चालन हुँदै आएको छन ।

बिषेशगरी ज्वालामुखीको रामपुर, खरी,मैदी र त्रिपुरा सुन्दरी गाउँपालीकाको सल्यानटार क्षेत्रमा यस्ता अबैध गतिविधि निकै बढेको छ ।

बालुवा खानीलगायत बालुवा प्रशोधन उद्योग सञ्चालकहरुले  जिल्ला प्रशासन कार्यालय धादिङ र बुढिगण्डकी जलविद्युत आयोजनाले पटक पटक आग्रह गर्दा समेत अटेर गरिरहेका छन ।

जथाभावी खानी उत्खनन गर्दा खानी भन्दा माथिल्लो भाग भासिन थालेको छ ।

त्यसो त सरकारले मुआब्जा दिई सकेको स्थानमा गाँउपालिकाले नै राजश्व संकलनको निहुँमा ठेक्का लगाएपछि उत्खनन् सुरु भएको हो ।

स्थानीय तहहरुले नै कानुन विपरित सञ्चालित अबैध खानी बालुवा प्रशोधन उद्योगहरु बन्द गर्न र गराउनु पर्नेमा राजश्व संकलन गर्ने निहुँमा अबैध क्रियाकलाप गरेको भन्दै आयोजनाले स्थानीय निकायलाई समेत अबैध गतिविधि बन्द गराउन सचेत गराएको छ ।

स्थानीय निकायले नै मुआब्जा लिइएको ठाँउमा खानी र बालुवा प्रशोधन गर्ने फिरफिरे चलाउन अनुमति दिएकोले यस्ता गतिविधि दैनिक जसो बढ्दै गएको आयोजनाको ठहर छ ।

यसले गर्दा प्राकृतिक विनास मात्र नभई वाताबरणीय रुपमा प्रदूषण हुने भन्दै यस्ता कार्यमा रोक लागउन आग्रह गरिएको आयोजनाले जनाएको छ ।

यसरी संञ्चालन गरेको खानीबाट निकालिएको बालुवा, ढुङ्गा लगाएतका बस्तुहरुको ढुवानीमा कर समेत तिरको पाइएको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.