सुरु भयो ‘मेरोकित्ता’ डिजिटल नक्सा प्रणाली

काठमाडौं– सरकारले ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ गरेको छ ।

नापी विभागमा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ गर्नुभयो । अब ‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनी पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सकिने भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले डिजिटल नेपालको अवधारणासाथ काम गरिरहेको सरकार प्रविधिमा थप एक कदम अगाडि बढेको बताउनुभयो । उहाँले डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको सुरुवात गर्ने नेपाल नै पहिलो मुलुक हुनसक्ने उल्लेख गर्नुभयो । ‘डिजिटल स्वाइल म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल विश्वकै पहिलो मुलुक हो।’ उहाँको भनाइ छ, ‘यस्तो सिस्टम अरु कसैले पनि शुरुवात गरेका छैनन् । यसमा थप अहिले ल्याण्ड म्यानेजमेन्टमा समेत हामीले डिजिटल सिस्टमको विकास गरेका छौं । यो पनि पहिलो हुनसक्छ ।’

प्रधानमन्त्री ओलीले लेस फेस, लेस पेपर, क्यास लेसको अभियानमा सरकार लागि परेको समेत स्पष्ट पार्नुभयो ।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले मालपोत र नापीमा हुने बेथिति रोक्न ‘मेरो कित्ता’ अनलाइन प्रणाली सुरुवात गरिएको बताउनुभयो । जग्गासँग जोडिएर मालपोत र नापीमा पुगेर जनताले भोग्नुपर्ने सास्तीको अन्त्य गर्नु ऐतिहासिक काम भएको पनि उहाँले बताउनुभयो । उहाँले कार्यालयमा हुने ढिलासुस्ती र बेथितीलाई रोक्न यो कार्यक्रम ल्याइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.