कांग्रेसको महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु

काठमाडौं– नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु गरेको छ ।

बिहीबार सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु भएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशरण महतले जानकारी दिनुभयो । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ । नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि गर्ने प्रस्ताव छ ।

कांग्रेस सहमहामन्त्री डाक्टर महतले साउन १२ गतेदेखि स्थानीय तहको अधिवेशन सुरु गर्ने र भदौ १६ गते सुरु गरेर १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव बैठकमा आएको जानकारी दिनुभयो ।

यसैबीच कांग्रेस नेता एवं कांग्रेस क्रियाशिल सदस्यता छानविन समिति संयोजक रमेश लेखकले क्रियाशिल सदस्यता नविकरणको काम भइरहेको बताउनुभयो । क्रियाशिल सदस्यताको कारणले महाधिवेशन नढकिलिएको भन्दै कोरोना प्रमुख कारण भएको उहाँले बताउनुभयो ।

कोरोना महामारीका कारण कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण प्रभावकारी हुन सकेको छैन । आगामी महाधिवेशनमा १० लाख क्रियाशील सदस्यता वितरण गर्ने कांग्रेसको योजना छ । तर अहिलेसम्म करिब ८ लाखले मात्र क्रियाशील सदस्यता लिएका छन् ।

कांग्रेस बैठकले कोरोना संक्रमणबाट जोगाउने एक मात्र औषधि खोप भएकाले सबै नागरिकको पहुँचमा खोप उपलब्ध गराउन कांग्रेस बैठकले माग गरेको जानकारी डा महतले दिनुभयो । कांग्रेसले बैठकले नेपाललाई खोप उपलब्ध गराउन अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेको छ । महतले विदेशी राष्ट्रहरुले विभिन्न देशलाई उपलब्ध गराउने भनेको खोप नेपाललाई प्राथमिकताका साथ उपलब्ध गराउन आग्रह गरिएको बताउनुभयो । बाढी पिडितको राहत र उद्धारको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको महतले बताउनुभयो ।

बैठक शुक्रबार पनि बस्ने महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.