सरकारको कस्तो छ बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी ?

काठमाडौं– सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई चाँडै नै कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने लक्ष्य राखेको छ । त्यसका लागि आवश्यक पर्ने खोप ल्याउने प्रक्रिया अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

नेपालमा १८ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइँदै आएको छ । योसँगै अब बालबालिकालाई पनि खोप लगाउने प्रयास सुरु भएको छ । हुन त अहिलेसम्म १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको कुनै पनि खोप उपलब्ध भएको छैन ।

१२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि भने केही मुलुकले खोप उत्पादन गरेर लगाउन सुरु गरेका छन् । तीनै खोप नेपाल सरकारले पनि कोभ्याक्स सुविधामार्फत् खरिद गरेर ल्याउने प्रक्रिया अघि बढाएको छ । आगामी पुससम्म १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाउने गरी तयारी अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधामार्फत् नै ती खोप ल्याउने भएको हो । अहिलेसम्म ल्याइएका अधिकांश खोप पनि कोभ्याक्स सुविधामार्फत् नै नेपालले खरिद गरेर या अनुदानमा ल्याएको हो । भारत र चीन सरकारले भने केही खोप प्रत्यक्ष रुपमा नेपाललाई दिएका छन् । बालबालिकाका लागि प्रयोग हुने खोप पनि प्रत्यक्ष खरिद गरेर वा अनुदानमार्फत् ल्याउन प्रयास जारी राखिएको हो ।

कोरोनाविरुद्धको खोप प्राप्त गर्नु नै अहिलेका लागि प्रमुख चुनौती हो । खोप प्राप्त भएपछि जतिसक्दो चाँडो नै ल्याएर लगाउने प्रयास गरिएको छ । १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि उपयुक्त हुने खोप पुस मसान्तसम्म ल्याउने तयारी सरकारको छ । त्यसअघि नै खोप प्राप्त भएमा पनि बालबालिकालाई लगाइने छ । सरकारको लक्ष्य आगामी चैतसम्म १२ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने छ ।

कोरोनाविरुद्धको खोप बालबालिकाका लागि अति आवश्यक भइसकेको छ । अधिकांश ज्येष्ठ नागरिक र दीर्घरोग भएकाहरुले खोप लगाइसकेका छन् । अब बालबालिका सबैभन्दा बढी जोखिममा परेको समूह हो । यो समूहले जनस्वास्थ्यका मापदण्डको पालना राम्रोसँग गर्न सक्दैन । कुनै बालबालिकामा संक्रमण भएमा उसले परिवारका अन्य सदस्यहरुलाई संक्रमण सार्न सक्ने जोखिम बढी हुने भएकाले तत्काल उनीहरुलाई खोप लगाउन आवश्यक रहेको निष्कर्ष मन्त्रालयले निकालेको छ ।

कोरोना संक्रमण दरमा कमी आएसँगै विस्तारै विद्यालयहरु खुला हुन थालेका छन् । विद्यालय जाने उमेर समूहका बालबालिकाले जनस्वास्थ्यका मापदण्डको पालना राम्रोसँग गर्न नसक्ने भएकाले खोप लगाएर उनीहरुलाई सुरक्षित राख्ने चाहना सरकारको छ । अब चाँडै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाले खोप प्राप्त गर्न थाल्ने र त्यसपछि संक्रमणको जोखिमलाई अझ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.