गोरखामा भएको ट्रक दुर्घटनामा चालकको मृत्यु

गोरखा-गोरखाको आरुघाट गाउँपालिका–१, स्थित माझगाउँमा गए राति मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रकका चालक धादिङको गङ्गाजमुना गाउँपालिका–७ घर भएका ३३ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएका श्रेष्ठको आरुघाट स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । आरुघाट बजारबाट धुन्चेततर्फ जाँदै गरेको बा५ख १२३१ नम्बरको मिनीट्रक माँझगाउँमा अनियन्त्रित भएर सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरी निरीक्षक थापाको भनाइ छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएको उहाँले जानकारी दिनुभयो ।

घाइते हुनेमा आरुघाट गाउँपालिका–१ का ३५ वर्षीय राजकुमार गुरुङ र तीन वर्षीया बालिका दिव्या गुरुङ रहेका छन् । उनीहरुको पनि आरुघाट स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । घाइते दिव्याको अवस्था गम्भीर भएकाले थप उपचारका लािग अन्यत्र पठाउने तयारी भइरहेको स्वास्थ्यचौकीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.