नेपाली कांग्रेसको सभापतिमा देउवा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
मंगलबार दोस्रो पटक भएको निर्वाचनमा सभापति प्रत्यासी डा. शेखर कोइरालालाई हराउँदै देउवा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । प्रतिस्पर्धी डा. कोइरालालाई ८७८ मतान्तरले पराजित गर्दै देउवा विजयी हुनुभएको हो । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गर्नुभएको थियो भने डा कोइरालाले १ हजार ८५५ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जम्मा ३५ मत बदर भएको थियो ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा भएको मतगणना बुधबार बिहान २ बजे सकिएको थियो ।
पहिलो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने देउवा र डा कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।
निर्वाचन समितिका सदस्य एगराज पोखरेलका अनुसार महाधिवेशनमा कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ५ सय ६२ जनाले मतदान गरेका छन् । सोमबारको मतदानमा ४ हजार ६ सय ७९ प्रतिनिधिले मतदान गरेका थिए ।
सोमबार भएको निर्वाचनमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले सबैभन्दा बढी मत पाउनुभएको थियो । उहाँले २२५८, निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. कोइरालाले १७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो ।
सभापति प्रत्यासी शेखर बाहेक प्रकाशमान, विमलेन्द्र र कल्याणले समर्थन गरेपछि देउवालाई जीतका लागि सहज भएको थियो ।
२०७२ सालमा भएको १३ औं महाधिवेशनमा तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५ सय २६ मतअन्तरले हराउँदै देउवा पार्टी सभापति हुनुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्