सभापति निर्वाचित गराएकोमा प्रधानमन्त्रीको आभार

काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि निर्वाचित गराउने सबैमा धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।

मंगलबार दोस्रो पटक भएको निर्वाचनमा सभापति प्रत्यासी डा. शेखर कोइरालालाई हराउँदै देउवा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी भएर मलाई सभापतिमा विजयी गराउनु हुने जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिलगायत सम्पूर्ण शुभचिन्तक, सहृदयी साथीहरुप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भन्नुभएको छ ।

प्रतिस्पर्धी डा. कोइरालालाई ८७८ मतान्तरले पराजित गर्दै देउवा विजयी हुनुभएको थियो । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गर्नुभएको थियो भने डा कोइरालाले १ हजार ८५५ मत प्राप्त गर्नुभएको थियो ।

पहिलो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने देउवा र डा कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको थियो ।

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५ सय २६ मतअन्तरले हराउँदै देउवा पहिलोपटक नेपाली कांग्रेसको पार्टी सभापति हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.