‘बेथिति देखिए सशक्तरूपमा प्रस्तुत हुन्छौँ’: कोइराला

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी डा शेखरप्रसाद कोइरालाले पार्टीमा बेथिति भए सशक्तरूपमा प्रस्तुत हुने बताउनुभएको छ ।

कोइराला समूहले आयोजना गरेको महाधिवेशन प्रतिनिधिलाई धन्यवाद ज्ञापन कार्यक्रममा उहाँले चुनावी परिणामलाई स्वाभाविकरूपमा लिएको र स्वस्थ प्रतिस्पर्धाबाट प्रधानमन्त्री शेरबहादुर देउवा सभापति पदमा निर्वाचित हुनुभएको बताउनुभयो ।

“निर्वाचन हारे पनि हामीले लिएको विचार विजयी भएको छ, हाम्रो मुद्दा स्थापित भएको छ, युवा पुस्ताका लागि हामीले अवसर खोलिदिएका छौँ, हामी कांग्रेस रूपान्तरणमा लागेका छौँ, यसका लागि फेरि जनताका घरदैलोमा जान्छौँ, आगामी महाधिवेशनमा हामी सफल हुन्छौँ”, नेता कोइरालाले भन्नुभयो ।

भागबण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने घोषणासमेत उहाँले गर्नुभयो । अबको राजनीतिक यात्रा नयाँ ढङ्गले सुरु गर्नेसमेत नेता कोइरालाको भनाइ थियो ।

कांग्रेस नेता डा रामशरण महतले विधिविपरीतका धेरै काम भएकाले अब नेतृत्व सच्चिनुपर्ने बताउनुभयो । कांग्रेस नेता अर्जुननरसिंह केसीले अहिलेसम्म भएका भ्रष्टाचारका घटनाको छानबिन गर्न पार्टीको यो विचार समूहले आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । पार्टी हुकुमी र हैकमी प्रवृत्तिबाट नभई विधिबाट चल्नुपर्ने उहाँको भनाइ थियो ।

पूर्वमन्त्री एवं कांग्रेस नेता बलबहादुर केसीले राष्ट्रिय राजनीति ठीक तरिकाले नचली कालो बादल मडारिन थालेकाले सचेत हुन नवनिर्वाचित पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउनुभयो । व्यक्ति नभई नीतिका पछि आफूहरु लागेको उहाँको विचार थियो ।

महामन्त्री पदका उम्मेदवार गगनकुमार थापाले नयाँ नेतृत्व देश र पार्टीको हितमा गर्ने काममा सहकार्य एवं देश र पार्टीको घात गर्ने काममा सङ्घर्ष गरेर अघि बढ्ने बताउनुभयो ।

अघिल्लो दिनसम्म पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ भन्ने नेताहरु एकाएक पुरानै नेतृत्वका पक्षमा लाग्नुको उत्तर नेपाली जनता एवं पार्टी कार्यकर्ताले खोजिरहने उहाँले बताउनुभयो । शेखर समूहले महाधिवेशनमा ४० प्रतिशत मत पाएकाले यो बोकेर चार वर्षसम्म क्रियाशील हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कांग्रेस नेत्री कमला पन्तले तीनै तहको निर्वाचन नजिकै आएकाले कसरी अघि बढ्ने भन्ने चिन्तन सुरु गर्नुपर्ने विचार राख्नुभयो । उपसभापतिका उम्मेदवार डा चन्द्र भण्डारीले नवनिर्वाचित पार्टी नेतृत्वलाई एउटा गुटमात्र नभई सिङ्गो पार्टी चलाउने गरी काम गर्न सुझाव दिनुभयो ।

उपसभापतिका अर्का उम्मेदवार धनराज गुरुङले अर्को महाधिवेशनमा ५१ प्रतिशत मत ल्याउने गरी विचार र आस्थाले काम गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा महामन्त्रीको उम्मेदवारसमेत रहनुभएका रक्षामन्त्री डा मीनेन्द्र रिजालले यो समूहले आगामी दिनमा पार्टीभित्र व्यक्तिको भाग नखोज्ने तर विचारको प्रतिनिधित्व भने हुनुपर्नेमा जोड दिनुभयो । निर्वाचित नेतृत्वमा परिवर्तनको पनि जिम्मा महाधिवेशनले दिएकाले त्यसतर्फ विचार पुर्‍याउन नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा नेता गुरुराज घिमिरे, मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बु, नेता भूपेन्द्रजङ्ग शाहीलगायतले पहिलो मतदानमा एक हजार ७०२ मत आएकामा पुनः मतदान हुँदा सभापतिका अरु तीनै जना नेताले देउवालाई समर्थन गर्दा पनि १५३ मत बढ्नु नै शेखर समूहको जीत भएकामा जोड दिनुभयो । कार्यक्रममा देशभरका महाधिवेशन प्रतिनिधिको सहभागिता थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.