मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं- सरकारले स्थानीय तह सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा निर्वाचन आयोग, राजनीतिक दल, मतदातालगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राष्ट्र सेवक कर्मचारी, सुरक्षा निकाय तथा सुरक्षाकर्मी, सञ्चार माध्यम तथा सञ्चारकर्मी, नागरिक समाजलगायत निर्वाचन कार्यमा प्रत्यक्ष वा परोक्षरुपमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिएको हो ।

बैठकले यही जेठ ९ देखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घीय एसिया प्रशान्त आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) को ७८ औँ सत्रमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङ नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीबाट फर्केकाको पुनःएकीककरण आयोजनाको लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने करिब रु ८६ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने, विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डरल (करिब ३३ अर्ब) ऋण सहायतासम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल राष्ट्र बैंक नोट धुल्याउने नियमावली, २०७९ बनाउन स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा र प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामालाई नेपाल प्रहरीको जनपद प्रहरी समूहको अतिरिक्त महानिरीक्षकको पदमा बढुवा गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

बैठकले यही जेठ १८ मा नर्वे र १९ गते फिनल्याण्डसँग हुने द्विपक्षीय परामर्श संयन्त्रका बैठकमा भाग लिन जानका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।

बैठकले कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकाअन्तर्गतको जग्गा नापजाँचसम्बन्धी गठन आदेश, २०७८ स्वीकृत, वन नियमावली, २०७९ स्वीकृति, सुर्खेत भेरीगङ्गा (रामघाट) विमानस्थल निर्माणका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.