विद्यार्थीबाट असुलेको रकम अख्तियारको नियन्त्रणमा

सुर्खेत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जन नमूना मावि सुर्खेतबाट रु दुई लाख ७६ हजारसहित कागजात नियन्त्रणमा लिएको छ ।

आयोगका सूचना अधिकारी भेषराज रिजालले पत्रकार सम्मेलन गरी जन माविले विनारसिद विद्यार्थीबाट असुलेको रु दुई लाख ७६ हजार छसय ९० रकमसहित कागजात नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत बीच बजारमा रहेको साधन स्रोतले पूर्ण मानिने सुर्खेतकै सबैभन्दा पुरानो जन माविले नेपालको संविधान, सम्मानित उच्च अदालत सुर्खेतको विसं २०७८ जेठ २३ गतेको अन्तरिम आदेश र मङ्सिर १ गतेको परमादेशविपरीत विद्यार्थीबाट शुल्क असुलेकाले सो रकम नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

सूचना अधिकारी रिजालका अनुसार सम्मानित अदालतको आदेश तथा परमादेशविपरीत विद्यार्थी भर्ना गर्दा रसिद नदिएर रकम असुलेको भन्ने बेहोराको उजुरी निवेदनका आधारमा आयोगको कार्यालयबाट खटिई गएको टोलीले सो विद्यालयमा कार्यरत कार्यालय सहायक र सूचना सहायकको टेबुलको घर्रा र दराजबाट विनारसिद विभिन्न विद्यार्थीबाट असुल गरिसकेको रकम नियन्त्रणमा लिएको छ ।

जन नमूना माध्यमिक विद्यालयको साउन २६ गते प्रकाशित कक्षा–११ को प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण विद्यार्थीबाट भर्ना गर्दा कुनै रसिद, बिल नदिएर अवैधरूपमा रकम असुल गरी लुकाइराखेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ ।

“यसको थप अनुसन्धानका लागि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको छ”, उहाँले भन्नुभयो, “विनारसिद शुल्क असुल गरेको भन्ने बेहोराका यस्तै प्रकृतिका अन्य विद्यालयका उजुरीउपरसमेत छानबिन भइरहेको छ ।”-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.