कर्णालीमा शाह र कामी मन्त्री नियुक्त

सुर्खेत- कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामी नियुक्त हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले मन्त्रीमा सिफारिस गरेका माओवादी केन्द्र प्रदेशसभा दलका प्रमुख सचेतक शाह र प्रदेशसभा सदस्य कामीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आज योजना र ऊर्जा विकासमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

माओवादी केन्द्रले प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएसँगै दुवै मन्त्रीले आइतबार मुख्यमन्त्री शाहीसमक्ष राजीनामा दिनुभएको थियो । उक्त राजीनामा स्वीकृत भएसँगै रिक्त रहेको पदमा मुख्यमन्त्री शाहीले शाह र कामीलाई मन्त्रीमा नियुक्त गर्नुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिवालयका अनुसार नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो ३ बजे उनीहरुलाई शपथ ग्रहण गर्ने कार्यक्रम रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.