काठमाडौँ–७ : यस्तो छ उम्मेदवारका चुनावी ‘एजेण्डा ’

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन केही दिनमात्रै बाँकी छ । आफ्नो चुनावी ‘एजेन्डा’ बोकेर उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा ठूला राजनीतिक दलबीच नै हुने देखिन्छ । यद्यपि स्वतन्त्र रूपमा उम्मेदवारी दिनेको सङ्ख्या पनि कम छैन ।

काठमाडौँ क्षेत्र नं –७ मा प्रतिनिधिसभा सदस्यमा विभिन्न राजनीतिक दलका तर्फबाट १३ र १६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । सो क्षेत्रमा सत्ता गठबन्धबाट अस्मिता सिंह (मानुषी) यमी भट्टराई नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर मैदानमा हुनुहुन्छ । नेकपा (एमाले) बाट श्यामकुमार घिमिरे उम्मेदवार हुनुहुन्छ । यमीलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) को समर्थन छ ।

सो क्षेत्रमा विसं २०७४ निर्वाचनमा नेकपा (एमाले) बाट रामवीर मानन्धर निर्वाचित हुनभएको थियो । उहाँले आठ हजार २३ मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रमबहादुर थापालाई पराजित गर्दै १८ हजार एक सय दुई मत प्राप्त गर्नुभएको थियो । तीव्र आर्थिक विकासका लागि लगानीमैत्री वातावरण बनाउने र प्रबद्र्धनमा सहजीकरण गर्ने अठोटका साथ गठबन्धनका उम्मेदवार मानुषी अघि बढ्नुभएको छ । कुल गार्हस्थ्य बचत वृद्धि गरी लगानीतर्फ प्रोत्साहन गर्ने उहाँको चुनावी प्रमुख एजेन्डा रहेको छ ।

यसपटक पूर्व सांसद मानन्धर स्वतन्त्र रुपमा घण्टाघर चुनाव लिएर चुनावी मैदानमा हुनुहुन्छ । ०७४ सालको निर्वाचनमा निर्वाचित उहाँ मानन्धर आफूले सुरु गरेर पूरा गर्न नभ्याएका बाँकी विकासका योजना पूरा गर्न पुनः उम्मेदवारी दिएको बताउनुहुन्छ । उहाँ आफ्नो जित कायम राख्ने कसरतमा हुनुहुन्छ । सो क्षेत्रमा तीन उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

एमाले उम्मेदवार घिमिरे कला, संस्कृतिको संरक्षण गर्दै पर्यटकीय विकासका योजनालाई अघि बढाउने एजेन्डासहित चुनावमा होमिनुभएको छ । त्यस्तै,सो निर्वाचन क्षेत्रमा १० वडा समेटिएका छन् । ती मध्ये काठमाडौँ महानगरपालिकाका चार, नार्गाजुन नगरपालिकाका तीन र तारकेश्वर नगरपालिकाका तीन वडाहरु रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनको नतिजाअनुसार काठमाडौँ महानगरको १६, १७ र २५ सोही क्षेत्रअन्तर्गत पर्ने नागार्जुन नपा–१ र तारकेश्वर–५ मा कांग्रेसले जित हासिल गरेको छ । एमालेले काठमाडौँ महानगरअन्तर्गतका वडा नं १८, सोही निर्वाचन क्षेत्रअन्तर्गत पर्ने नागार्जुनको २, ३ र तारकेश्वरको वडा नं ४ मा जित हासिल गरेको छ । सो निर्वाचनमा कांग्रेसका वडाध्यक्षले १४ हजार एक सय ६७, एमालेका वडाध्यक्षले १२ हजार दुई सय दुई, नेकपा (माओवादी केन्द्र) ले पाँच सय ७६ र नेकपा (एकीकृत समाजवादी)ले तीन हजार ३८ मत प्राप्त गरेका छन् । स्थानीय तहको मतका आधारमा यो क्षेत्रमा सत्ता गठबन्धन नै बलियो देखिन्छ ।

स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरुमा मानन्धरसहित हेमबहादुर ढुङ्गेल, रोजिना अवाले, किरण केसी, सुजनराज बज्राचार्य, रवीन्द्रकुमार श्रेष्ठ, लोकप्रसाद सिंखडा, प्रसन्नकुमार अर्याल, यादवलाल कायस्थ, राजकुमार कोइराला, भरत तामाङ, मञ्जुमाया तामाङ, जानुका पौडेल, हेम ढुङ्गेल, लक्ष्मण गजुरेल र ईश्वर अर्याल छन् ।

उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धु्रवविक्रम मल्ल, नेपालका लागि नेपाली पार्टीबाट राम नेपाली, जनसमाजवादी पार्टी नेपालबाट शैलेशराज श्रेष्ठलगायतले उम्मेदवारी दिनुभएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौँ–७ मा कुल मतदाताको सङ्ख्या ६१ हजार दुई सय ९१ रहेको छ । तीमध्ये ३१ हजार ६ सय ६४ महिला र २९ हजार ६ सय २७ पुरुष मतदाता रहेका छन् । सो क्षेत्रमा मतदान केन्द्र २९ र मतदानस्थल ७१ निर्धारण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.