विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको सफलता

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर सात दशमलव ४९ प्रतिशतमा झारेको छ ।

गतवर्ष मङ्सिरसम्मको वितरणतर्फको विद्युत् चुहावट नौ दशमलव २३ प्रतिशत थियो । मङ्सिरसम्ममा वितरण प्रणालीमा चार अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकामा तीन अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत् बिक्री भएको छ । एकतीस करोड सात लाख ७९ हजार युनिट विद्युत् चुहावट भएको छ ।

मङ्सिरसम्म प्रसारण लाइनतर्फको चुहावट चार दशमलव ५६ प्रतिशत छ । प्रसारण र वितरणतर्फ गरी मङ्सिरसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १२ दशमलव शून्य पाँच प्रतिशत छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब सात वर्षअघि वितरणतर्फको चुहावट झण्डै २२ प्रतिशत रहेकामा अहिले घटाएर सात दशमलव ४९ प्रतिशतमा झार्न सफल हुनु ठूलो उपलब्धि भएको जानकारी दिनुभयो ।

प्राधिकरणका सात प्रादेशिक कार्यालय र दुई प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको रहेको छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वितरण केन्द्रको मङ्सिरसम्ममा समग्र विद्युत् चुहावट १२ दशमलव ८० प्रतिशत छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.