डोल्पाका यार्सागुम्बा पाटनहरुमा थुप्रिएका फोहर प्रशोधनका लागि काठमाडौं पठाइयो

डोल्पा- हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटनहरु फोहोरले भरिभराउ हुन थालेका छन् । पाटनमा पुगेर यार्सागुम्बा संकलन कार्य सुरु भएदेखि जम्मा भइरहेको प्लाष्टिक, सिसा, कपडा, विभिन्न पेय पदार्थका बोत्तलहरुले जिल्लाका उच्च हिमाली पाटनहरु भरिभराउ भएका हुन् ।

यार्सागुम्बा जस्तो बहुमुल्य जडिबुटी पाइने डोल्पाका करिब एक हजार पाटनहरु फोहोरले भरिएपछि केही बर्ष यता यार्सागुम्बा लोप हुन थालेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । डोल्पा देशमै सबैभन्दा उच्च गुणस्तर र धेरै परिमाणमा यार्सागुम्बा पाइने जिल्ला हो ।

जिल्लाबासीको आर्थिक श्रोतसँग जोडिएको यार्सागुम्बा लोप हुन थालेपछि अहिले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, विश्व वन्यजन्तु कोष, मध्यवर्ती समिति, आमा समुह र स्थानीय सरकार संरक्षणतिर जुटेका छन् ।

त्यतिमात्रै नभई पर्यटकीय नगरीको रुपमा रहेको डोल्पाका पाटनमा फोहोर बढेपछि वातावरणीय प्रदुषण भई हिमाली घाँस उत्पादनमा कमीसँगै हिमाली नावर, झारल, घोरल, कस्तुरी जस्ता संरक्षित जनावरलाई आहारको अभावमा लोप हुने खतरा बढेको निकुञ्जको भनाई छ ।

बर्षेनी जम्मा भइरहेको फोहोरले जिल्लाको आर्थिक, सामाजिक, वातावरणीय र पर्यटकीय क्षेत्रलाई गम्भीर असर पारेपछि अघिल्लो आर्थिक बर्ष देखि अभियानकै रुपमा फोहोर जम्मा गर्न थालिएको विश्व वन्यजन्तु कोष डोल्पाका प्रतिनिधि चन्द्रजंग हमालले बताउनुभयो ।

यसरी जम्मा गरिएको ७८ क्‍विन्टल फोहोर मालबाहक ट्रकमा राखेर काठमाण्डौ पठाइएको छ । भक्तपुरस्थित डोको रिसाइक्लर्ससँग सम्झौता भएअनुसार प्रशोधनका लागि काठमाडौं पठाइएको हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.