पूर्वाधारको पर्खाइमा म्याग्दीको मालिका धुरी

म्याग्दी– पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विममा पर्ने धार्मिक पर्यटकीय क्षेत्र मालिका धुरी भौतिक पूर्वाधारको पर्खाइमा रहेको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय आकर्षणको सम्भावना बोकेको मालिका धुरीमा आवश्यक पर्ने भौतिक संरचनाहरुको निर्माण गर्न सकिएको छैन ।
धार्मिक पर्यटनको आकर्षणको सम्भावना भएर पनि भूगोलका हिसाबले टाढा भएपछि मालिका धुरीमा पूर्वाधारका संरचनाहरु बनाउन नसकिएको स्थानीयवासी बताउँछन् । मालिका मन्दिरको दर्शन तथा पुजाआजा गर्नका लागि त्यहाँ पुग्ने पर्यटकहरुलाई लक्षित गरेर खानेपानी, शौचालय, टि–हाउस, बास बस्ने भवनलगायत संरचनाहरु बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
समुन्द्री सतहदेखि तीनहजार तीनसय मिटरको उचाइमा अवस्थित मालिका धुरीबाट बिहानको सूर्योदय, बेलुकाको सूर्यास्तसँगै मनोरम हिमश्रृङ्खला, ग्रामीण भूगोल, मानव वस्ती, तरेली परेका पहाडका डाँडाकाँडा तथा थुम्कालगायत रमणीय दृश्यहरु देख्न सकिन्छ ।
मालिका धुरीबाट धौलागिरी, गूर्जा, चुरेन, सिस्ने, मानापाथी, पुतली, पुथा, निलगिरी, अन्नपूर्ण, मनास्लु, माछापुच्छे«लगायत डेढ दर्जनभन्दा बढी हिमालहरु आँख्खै अगाडि देखिन्छन् ।
यसका साथै म्याग्दीको ३५ वटाभन्दा बढी गाउँ, लोपोन्मुख वन्यजन्तु जनावर, चराचुरुङ्गी, वनपैदावर, लालीगुराँस, जडिबुटीलगायत अवलोकन गर्न सकिन्छ ।
मालिका धुरीमा रहेको मालिका, कालिका र जालपाको दर्शन तथा पुजाअर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । मालिका धुरीमा वि.सं. १९१० सालदेखि पुजाअर्चना सुरु भएको इतिहास छ ।
हरेक वर्ष ज्येष्ठीपूर्णिमा, चण्डीपूर्णिमा र तिहारको भाइटिकाको दिनमा मालिका मन्दिरमा विशेष पुजाआजा हुँदै आएको मालिका क्षेत्र विकास समिति म्याग्दीका अध्यक्ष छकप्रसाद पाईजाले जानकारी दिनुभयो । उहाँले पछिल्लोपटक शनिवार, विदाको दिन र अन्य समयमा पनि मालिका मन्दिरमा विभिन्न ठाउँबाट धार्मिक पर्यटकहरु पुजाआजा र भ्रमणको लागि आउने गरेको बताउनुभयो ।
मालिका मन्दिर जानका लागि यसअघि गण्डकी प्रदेश सरकारकोे आर्थिक सहयोगमा पदमार्ग निर्माण भएको छ भने मालिका गाउँपालिकाले विमको धौलागङ्गा र नागीथलाको बीच भागसम्म सडक विस्तार गरेको जनाएको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मालिका धुरीको पर्यटन प्रवद्र्धन गर्न आवश्यक पहल थालिएको बताउनुभयो ।
चालु आर्थिक वर्षमा मालिका जाने सडकको स्तरोन्नति गर्नका लागि ८७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
मालिका मन्दिरमा नरिबल चढाउनुका साथै परेवा र बोकाको बलि दिएर पुजाअर्चना गर्ने गरिएको छ । म्याग्दी सदरमुकाम बेनीबाट पैदलयात्रा गरी दुई दिन र सवारीसाधनमार्फत एकै दिनमा सजिलै मालिका धुरी पुग्न सकिन्छ ।
मालिका गाउँपालिका–७ विम, ६ नम्बर वडा दरबाङको दुखु तथा रघुगंगा गाउँपालिका–६, पाखापानीस्थित ठाडाखानी गाउँको सिरानमा मालिका धुरी पर्दछ । यहाँ पुग्नका लागि विम, दुखु, ठाडाखानी र पर्यटकीय क्षेत्र टोड्केको बाटो भएर जान सकिन्छ । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.