दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो

काठमाडौँ-  सरकारले दादुरा-रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा-रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र उहाँले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिनुभयो ।

याे खाेप अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई लगाइने छ । भारतीय सेरम इस्टिच्युटले उत्पादन गरेको उक्त खोप ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)को अनुदानमा उपलब्ध भएको उहाँले बताउनुभयाे ।

सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकालाई आगामी फागुन १३ गतदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जनाइएको छ ।

भारतसँग सिमा जोडिएका तथा दादुरा-रुबेलाको अति सङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिसम्मका बालबालिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिनुभयो । बाँकी जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने उहाँको भनाइ छ।

सरकारले यसअघि नै भूकम्पका बेला जाजरकोट र पश्चिमरुकुममा खोप अभियान सञ्चालन गरिसकेको छ । सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालिएको हो ।

खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले खोप टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा रहेको जनाउँदै चाँडै नै जिल्लामा पठाइने बताउनुभयो ।

दादुरा–रुबेला भएका बेला ज्वरो आउने, शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने जस्ता लक्षण दखिने भन्दै समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै निमोनिया, कान पाक्नेलगायत समस्या हुने उहाँले बताउनुभयो ।

सामान्यतयाः दादुरा–रुबेला लागेका बिरामीमा आँखा पाकेर अन्धो हुने, कान पाकेर नसुन्ने, निमोनिया भएर श्वासप्रश्वास फेर्न समस्या देखिन्छ । गत वर्ष १९ जिल्लामा दादुरा–रुबेला महामारीका रुपमा फैलिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.