नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट

काठमाडौं- साताको अन्तिम दिन आज नेप्से परिसूचक २७.८४ अंक घटेर २०८०.८७ विन्दुमा झरेको छ । त्यसैगरी सेन्सेटिभ इण्डेक्स ४.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अंक घटेको छ ।

नेप्सेसँगै आज भोल्युम पनि घटेको छ । आज ३०३ स्टकको ६६ हजार १०७ पटकको कारोबारमा ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

नेप्सेमा करेक्सन भएपनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषि लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने गोर्खाज फाइनान्सको ८.०८ प्रतिशत बढेको छ । यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.०२ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज अप्पर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५० करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको २४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सोनापुर मिनरल्स एण्ड आयलको कारोबार रकम १६ करोड नाघेको छ ।

आज तेह्रवटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक २.०९ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.