प्रज्ञा स्मृति साइक्लिङ एमटिवि एक्ससिओ क्रस कन्ट्री ओलम्पिकमा ६ खेलाडीलाई उपाधी

चितवन- चितवनको भरतपुरमा सम्पन्न प्रज्ञा स्मृति साइक्लिङ एमटिवि एक्ससिओ क्रस कन्ट्री ओलम्पिकमा ६ विधाका खेलमा ६ खेलाडीले उपाधी हात पारेका छन् ।

तेस्रो संस्करणमा आयोजना गरिएको पुरुष ईलिटतर्फ सशस्त्र प्रहरीका सुरज राना मगरले निर्धारित दुरी १ घण्टा १४ मिनेट ४८ सेकेण्डमा पार गर्दै पहिलो भएका छन् । उनले उपाधिसँगै नगद ५० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै कन्ञ्चनपुरका हिमाल तामाङले निर्धारित दुरी १ घण्टा १४ मिनेट ५५ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हासिल गरी नगद ४० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे । तेस्रो स्थान धादिङमा लक्ष्मण मल्ल प्राप्त गरे। उनले नगद ३० हजार रुपैयाँ मेडल र प्रमाणपत्र हात पार्न सफल भए ।

भरतपुरको पुन्यवती ताल गणेशधामको वरपर ४ किलोमिटर परिधिभित्रको रेस र्कोषमा १ घण्टा १५ घण्टा रेस समय तोकिएको थियो । जसमा प्रतियोगिले ७ पटकसम्म परिक्रममा गरेको सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै महिला ईलिटतर्फ काठमाडौँकी उषा खनालले एक घण्टा १६ मिनेटमा सो दूरी पार गर्दै महिलातर्फको पहिलो उपाधि हासिल गरिन् । काठमाडौाकी लक्ष्मीमगरले १ घण्टा १८ मिनेट २३ सकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो बनिन् । त्यसैगरी पाँचथरकी इन्द्रकला नेबाङ १ घण्टा २१ मिनेट ३७ सकेन्डमा निर्धारित दूरीपार गर्दै तेस्रो बन्न सफल भइन् ।

दिवङ्गत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिका स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष साइक्लिङ म्याराथनको आयोजना गर्दै आएको छ । पुरुष ईलिट तर्फ प्रथम सिन्धुपाल्चोकका सुरज राना मगर र महिला ईलिटतर्फ प्रथम काठमाडौँकी उषा खनाल मेलेसियामाल हुने एसियन प्रतियोगितामा सहभागी हुन अवसर समेत प्राप्त गरेको सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए । साथै सहभागी सबै खेलाडीहरुलाई प्रमाणपत्र समेत प्रतिष्ठानले दिएको थियो ।

यस्तै पुरुष मास्टरतर्फ सिन्धुपाल्चोकका हर्कबहादुर लामाले निर्धारित दूरी एक घण्टा ११ मिनेट ४४ सकेन्डमा पार गर्दै उपधि हात पारे । काठमाडौाका विकास महर्जनले एक घण्टा १४ मिनेट २९ सेकेन्डमा पार गर्दै दोस्रो र बाँकेका देवबहादुर बोहराले १ घण्टा १९ मिनेट ५ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हात पार्न सफल भए ।

यसैगरी पुरुष जुनियरतर्फ उदयपुरका निमा शेर्पाले एक घण्टा ११ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम स्थान हात पारे। सुनसरीका सञ्जय राईले १ घण्टा १३ मिनेट ३७ सेकेन्डमा सो दूरी पार गरी दोस्रो बने भने मकवानपुरका राजिव ठाकुरले १ घण्टा २३ मिनेट २८ सेकेन्डमा पार गर्दै तेस्रो बने।

यसैगरी चितवन विशेष पुरुष तर्फ प्रमित थापा प्रथम, हेम चन्द्र सुनारदोस्रो र कष्ण घिमिरे तेस्रो बन्न सफल भए । यसैगरी चितवन विशेष महिला तर्फ सुधा तिमिल्सीना प्रथम, मोसमी आले दोस्रो र जुना श्रेष्ठ तेस्रो बन्न सफल भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मकट्टेलले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वास्थ जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्वपूर्ण रहने बताउनुभयो ।

यस्तै प्रतिष्ठानका अध्यक्ष एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको रफ्तारमा अगाडि बढेको भरतपुरले खेलकुदको विकासमा समेत नयाँ फड्को मार्ने क्रममा रहेको बताउनुभयो ।

कार्यक्रमका संयोजक सन्तु दराईले नेपालीको स्वास्थ्य अवस्था राम्रो राख्नका लागि साइकलको प्रयोग बढाउनु पर्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगितामा ९० जना बढी खेलाडीहरुको सहभागीता भएको थियो । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद् वागमती, हेटौँडाको सहयोग तथा नेपाल साइक्लिङ संघको प्राविधिक सहयोग रहेको थियो । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र भरतपुर महानगरको प्रर्बद्धकमा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.