मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदै

महोत्तरी- यसवर्षको मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ । मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै समापन हुन लागेको हो ।

मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा पारेर एक सय ३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर गरिने यो यात्राको अन्तिम कडी अन्तर्गृह परिक्रमा हो ।

अन्तिम अर्थात् १५औँ दिनको रात जनकपुरधामको रङ्गभूमि मैदानमा कटाएर १६औँ दिन बिहान अन्तर्गृह अर्थात् पञ्चकोशी परिक्रमा गरिने परम्परा छ । मध्यमा यात्रामा यात्रीले नेपाल भारतका विभिन्न तीर्थस्थलमा १५ रात्रि बास गरेका छन् ।

नेपालतर्फ धनुषामा ६, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रातको बास बस्ने परम्परा छ । फागुन औँसीका दिन सुरु भएको मध्यमा यात्रा आज टुङ्गिँदै छ ।

जनकपुरधामस्थित राम जानकी मन्दिर, धार्मिक महत्वका तलाउ, विभिन्न मठमन्दिर र रङ्गभूमिलाई माझमा पारेर जनकपुरधामको पाँच कोश दूरीको वृत्तमा गरिने परिक्रमालाई अन्तर्गृह अर्थात् पञ्चकोशी परिक्रमा भनिन्छ । मध्यमा (माध्यमिकी) परिक्रमाका यात्रीले १६औँ दिन बिहान यो यात्रा पुरा गर्छन् ।

घर व्यवहारको कामले समय निकाल्न नसकेर मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालु पनि अन्तर्र्गृहमा सहभागी हुन्छन् । मध्याह्नपूर्व सम्पन्न गरिने यस यात्रामा एक लाखभन्दा बढीको सहभागिता रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् (कोष)ले जनाएको छ ।

अन्तर्गृह परिक्रमाले आत्मशुद्धि हुने, परमार्थ सुध्रने र पारिवारिक कल्याण भई अन्त्यमा मोक्ष प्राप्त हुने हिन्दू मैथिल जनविश्वास छ । त्रेता युगमा श्री राम र जानकीले जनकपुरधाम वरपर विहार गर्नुभएको सम्झनामा यो यात्रा परम्परा सुरु भएको मानिन्छ ।

मध्यमा र आजको अन्तर्गृह परिक्रमाका सहभागीले आज बिहानको यात्राकै क्रममा गए राति होलीका दहन गरिएको खरानी उडाउँदै फागु खेल्छन् । मिथिलामा परिक्रमाको १५औँ दिनको रात ठाउँठाउँमा राक्षसी होलिकाको आकृति बनाइ त्यसलाई दहन गर्ने (आगो लगाउने) र भोलिपल्ट त्यो डढेको आकृतिको खरानी उडाउने चलन छ ।

यसमा आकृति दहन गर्नुलाई ‘होलिका दहन’ र खरानीको धुलो उडाउनुलाई ‘धुरा उडाउनु’ भनिन्छ । मिथिलामा धुरा उडाएपछि फागु खेल्ने परम्परा छ ।

धुरा उडाउने परम्पराभित्र दुई चलन छन् । एकथरि धुरा उडाएपछि फागु खेल्न थाल्छन् भने मिथिलाको मध्यमा परिक्रमा वृत्तभित्र भने धुरा उडाएको अर्थात् अन्तर्गृह परिक्रमा गरिएको भोलिपल्ट फागु खेल्ने चलन छ । यसअनुसार मिथिलामा आज र भोलि दुवै दिन होरी (होली, फागु) खेलिने साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ । राक्षसी वा दुष्ट प्रवृत्तिविरुद्ध सत्य र न्याय स्थापित भएको खुसियालीमा फागु पर्व मनाइने परम्परा रहेको उहाँ बताउनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.