उपनिर्वाचनः दलहरुलाई आफ्नै शक्तिको परीक्षण गर्ने उत्तम अवसर

काठमाडौं- आगामी बैशाख १५ गते हुने उपनिर्वाचनको सरगर्मी शुरु भएको छ । सत्ता गठबन्धन परिवर्तनपछि हुन लागेको उपनिर्वाचन दलहरुको आफ्नै शक्तिको परिक्षण उपर्युक्त अवसर भएकाले महत्वका साथ हेरिएको छ ।

गठबन्धन फेरिएपछि हुन लागेको उपनिर्वाचन राजनीतिक दलका लागि प्रतिष्ठाको विषय समेत बनेको छ । नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाएसँगै गठबन्धनबाट साझा उम्मेदवार बन्ने सम्भावना सकिएको छ भने दलहरुबीच एकल प्रतिस्पर्धा हुने निश्चित जस्तै भएको छ ।

राजनीतिक दलहरु उम्मेदवार टुङ्गो लगाउन छलफलमा जुटेका छन् भने उम्मेदवार बन्न चाहनेहरु आ-आफ्नो पार्टीमा लविङ तीव्र पारेका छन् ।

यसैवीच नेकपा एमालेको सचिवालय बैठकले इलाम-२ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्व. नेता सुवाशचन्द्र नेम्वाङका सुपुत्र सुहाङ नेम्वाङ उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचनन क्षेत्र रिक्त बनेको हो ।

त्यसैगरी बैठकले बझाङ प्रदेश-१ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । बझाङबाट सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ गते भएको सडक दुर्घटनामा निधन भएको थियो ।

बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन भएपछि सो क्षेत्रको प्रदेश सदस्य रिक्त भएको छ ।

दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरुको पनि सहयोगका लागि बैठकले अपिल गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो ।

त्यस्तै राष्ट्रिय स्वातन्त्र पार्टी रास्वपाले पनि इलाम-२ मा उम्मेदवार उठाउने र त्यसका लागि मतदानमार्फत चैत्र १७ गते सम्ममा उम्मेदवार टुङ्गो लगाउने निर्णय गरेको छ । रास्वपाले छुट्टै उम्मेदवार उठाएर निर्वाचनमा जाने निर्णय गर्दै गठबन्धनदलहरुसँग मित्रवत प्रतिस्पर्धा गर्ने स्पष्ट पारेको छ ।

त्यसैगरी नेपाली कांग्रेसको उम्मेदवार चयन गर्ने प्रकृयामा रहेको छ । जिल्लाबाट प्रदेश हुँदै सात जनाको नाम सिफारिस गरी केन्द्रमा पठाइएको छ । बझाङ प्रदेश १ को लागि पनि कांग्रेसको १० जनाको नाम सिफारिस गरेर पठाएको छ ।

कांग्रेसको संसदीय समितिले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने व्यवस्था अनुसार टुङ्गो लगाइने उपसभापित धनराज गुरुङले जानकारी दिनुभएको छ ।

नेकपा माओवादी पनि उम्मेदवार चयनको लागि छलफलमै रहेको महासचिव देव गुरुङले जानकारी दिनु भएको छ ।

निर्वाचन आयोगमा २० राजनीतिक दलले उपनिर्वाचनमा भाग लिनका लागि निवेदन दर्ता गराएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.