नेपालको लागातर दोस्रो जित,कतार ३२ रनले पराजित

काठमाडौँ – दीपेन्द्र सिंह ऐरीको कीर्तिमानी खेल प्रदर्शनमा नेपालले ओमानमा जारी एसीसी प्रमियर कप क्रिकेटमा कतारलाई ३२ रनले हराउदै लगातार दोस्रो जित दर्ता गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा आज आफ्नो दोस्रो खेलमा नेपालले कतारसामू २ सय ११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

कतार विरुद्ध दिपेन्द्रले एकै ओभरमा लगातार छ छक्का प्रहार गरे । यसअघि दिपेन्द्रले नै चीनमा गत वर्ष सम्पन्न एशियाडमा मंगोलिया विरुद्ध लगातार छक्का प्रहार गरेको भएपनि हालसम्म कुनै पनि नेपाली खेलाडीले एकै ओभरको सबै बलमा भने छक्का प्रहार गरेका छैनन् । विश्व क्रिकेटमै दुर्लभ यस किसिमको प्रदर्शन हालसम्म अन्य दुई जना खेलाडीले मात्रै गरेका छन् ।

आजको खेलको २० औ ओभरमा कतारका कमरान खानको बलिङमा दिपेन्द्रले लगातार सबै बलमा छक्का प्रहार गरेका हुन् । कूल २१ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरे । म्यानअफ दि म्याच बनेका दिपेन्द्रको विष्फोटक ब्याटिङसंगै टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २ सय १० रन बनायो । नेपालका लागि दिपेन्द्रले अविजित रहदैं सर्वाधिक ६४ रन बनाए । यसैगरि ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले ।

उनले ४१ बलमा छ चौकाको सहयोगमा ५२ रन बनाए । कुशल मल्लले १८ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन बनाए । साथै कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गलसन झा र विवेक यादवले पाँच-पाँच रनको योगदान दिए । कतारका लागि हिमांशु राठोर र मुसावर शाहले तीन-तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिए ।

नेपालले दिएको २ सय ११ रनको विजय लक्ष्य पछ्याउदै ब्याटिङमा उत्रिएको कतारले ९ विकेटको क्षतिमा १ सय ७८ रन मात्रै बनाउन सक्यो । कतारका मोहम्मद तानबीरले सर्वाधिक ६३ रनको पारि खेले भने अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । कतार विरुद्ध ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले समान २-२ विकेट लिए । यस्तै कुशल मल्ल र अविनाश बोहोराले समान १-१ विकेट लिए । आजको जितपछि नेपाल ४ अङ्क सहित अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आजै भएको नपालकै समूहको अर्को खेलमा साउदी अरेबियालाई १२ रनले हराउदै मलेसिया विजयी भयो । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो भने कतार हङकङसंग पराजित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.