पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

ललितपुर -प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–१० को नवनिर्मित वडा कार्यालय भवन उद्घाटनका लागि आज यहाँ आयोजित समारोहमा सभामुख घिमिरेले राजनीतिक परिवर्तनको आन्दोलन सम्पन्न भएको बताउनुहुँदै अब पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्नेतर्फ सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

जनप्रतिनिधि र राजनीतिक दलमा इच्छाशक्ति भयो भने हरेक क्षेत्रको विकास सम्भव हुने भन्दै स्थानीय तहको विकास र आकर्षणका लागि जनप्रतिनिधि र राजनीतिक दलले योजना बनाएर लाग्नुपर्ने उहाँको भनाइ छ ।

“समृद्धिको आधार पर्यटन हो, हिजो सबैभन्दा अपहेलनामा रहेको ठाउँ अहिले आकर्षक बन्ने क्रममा छ, यहाँ गणेशमान पार्क र मनमोहन पार्क बनेका छन्, भएका प्राकृतिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्दै नभएका कुराहरुको विकास गर्न सकियो भने राजधानी नजिकैको सुन्दर र रमणीय ठाउँ आकर्षणको केन्द्र बन्न सक्छ । गर्मीमा यो चिसो ठाउँमा आएर सुन्दरताको उपभोग गर्नेहरु लालयीत हुन्छन्”, सभामुख घिमिरेले भन्नुभयो ।

उहाँले उद्घाटन भएको भवनबाट जनताको दैनिक सेवासुविधालाई सहज बनाउन गुणात्मक उपलब्धि हासिल होस् भन्ने कामना गर्नुभयो । सभामुख घिमिरेले स्थानीय जनताको प्रयत्न र लगनशीलताले मात्रै समृद्धि हासिल हुने बताउँदै आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा कार्यालयको भवन निर्माणले जनतालाई छिटो र सहजरुपमा सेवा प्रदान गर्ने भन्दै यसले सङ्घीयताको प्रभावकारिताका लागि सहयोग पु¥याएको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले ग्वार्काेबाट पनौतीसम्म पुग्ने यहाँको सडकलाई स्तरोन्नति गरेर सहज बनाउने कार्यमा लाग्ने र यहाँको पर्यटन विकासमा क्रियाशील रहने बताउनुभयो । उहाँले नगरकोट र धुलिखेल जस्तै पर्यटकीय क्षेत्र बनाउनका लागि सङ्घीय सांसदका रुपमा लागिपर्ने बताउनुभयो ।

सांसद महर्जनले स्थानीय उत्पादनलाई बजारीकरण गरेर समृद्धि हासिल गर्नतर्फ लाग्न आग्रह गर्दै त्यसका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । महालक्ष्मी क्षेत्रको औद्योगिक, सांस्कृतिक र पर्यटकीय विकासमा सबैले हातेमालो गरेर लाग्नुपर्नेमा उहाँको जोड थियो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले पहिलो कार्यकालमा आफू नगरप्रमुख हुँदा स्वच्छ, सफा, समृद्ध र सुन्दर नगरपालिका बनाउने कार्ययोजना तय गरेको बताउनुभयो । उहाँले वडा कार्यालय भवन समयमै निर्माण सम्पन्न गरेकामा निर्माण व्यवसायीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा ६८ वटा ऐन, कानुन बनाएको जानकारी गराउँदै विभिन्न प्राविधिक कारणले नगरपालिका भवन निर्माण हुन नसकेको बताउनुभयो । उहाँले प्रदेश तहबाट हरेक किसिमले महालक्ष्मी नगरपालिकाको समृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो ।

आफू सदैव पारदर्शिता र सुशासनलाई अवलम्बन गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै मन्त्री श्रेष्ठले बागमती प्रदेशका अतिविपन्न नागरिक, लोपोन्मुख जाति, आश्रित व्यक्तिहरु, महिला स्वयंसेविका र अपाङ्गता भएका व्यक्तिहरुको बीमा रकम मन्त्रालयले तिरिदिने व्यवस्था गरेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले उत्पादनसँग जोडिने युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउनका लागि स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी आगामी वर्षको प्रदेश मन्त्रालयअन्तर्गतको बजेट आउने जानकारी गराउनुभयो । उहाँले पूर्वाधार विकासका साथै मानवीय विकासका लागि स्वास्थ्य, शिक्षा र रोजगारको क्षेत्रमा स्थानीय सरकारलाई सवलीकरण गर्न प्रदेश तहबाट लागिपर्ने बताउनुभयो ।

महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोबिन्द महर्जनले वडा नं १० लाई महत्व दिएर बजेट व्यवस्थापन गरिरहेको बताउनुभयो । उहाँले यस क्षेत्रको तामाङ समुदायको आर्थिक, सामाजिक विकास, पर्यटन पूर्वाधार विकासका लागि काम गरिरहेको उल्लेख गर्नुभयो ।

नगरप्रमुख महर्जनले यस ठाउँको विकासका लागि २० रोपनीको क्षेत्रमा फुटबल ग्राउन्ड बनाउने तयारी रहेको जानकारी दिनुभयो । लाँकुरी भञ्ज्याङलाई पर्यटकीय क्षेत्र बनाउनका लागि गुरुयोजना तयार गरिरहेको पनि उहाँले बताउनुभयो ।

उपप्रमुख लक्ष्मी महर्जनले स्थानीयको बाक्लो बस्ती रहेको स्थानमा शिलान्यास भएको वडा कार्यालय भवन निर्माण एक वर्षमा नै सम्पन्न गरिएको बताउनुभयो । उहाँले ‘समृद्ध र सुशासनयुक्त महालक्ष्मी नगर’ बनाउन अरु वडाका कार्यालय भवन तथा नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्ने बताउनुभयो ।

नगरपालिकाको आन्तरिक आर्थिक स्रोत कम भएको उपप्रमुख महर्जनले यहाँको सबै वडाको समानुपातिक विकासका लागि केन्द्रीय तहबाट बजेटका लागि पहल गरिदिनुहुन सभामुखलाई आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले यस वडा कार्यालय भवन निर्माणका लागि रु दुई करोड २४ लाख ७४ हजार तीन सय पाँच लागत अनुमान गरिएकामा निर्माणका क्रममा लागत केही बढ्न गई रु दुई करोड ७४ लाख नौ सय ६१ मा सम्पन्न भएको जानकारी दिनुभयो ।

वडा नं १० का अध्यक्ष विजय लामाले वडाको केन्द्रबिन्दुमा रहेको ठाउँमा निर्मित भवनबाट जनतालाई प्रत्यक्ष प्रदान गरिने सेवा तथा कार्य सम्पादनमा सहजता हुने बताउनुभयो । उहाँले सेवाग्राहीको पहुँचका लागि सडकको स्तरोन्नति गर्न प्रयत्नशील रहने बताउँदै सीमित स्रोत र साधनका बीच नागरिकलाई सन्तुष्ट पार्ने गरी सेवासुविधा प्रदान गर्ने बताउनुभयो । चार सय ५० घरधुरी रहेको यस वडामा दुई हजार पाँच सयको हाराहारीमा जनसङ्ख्या रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.