चौतर्फी दवाब बढेपछि इजरायल हमाससँग वार्ता गर्न इच्छुक

काठमाडौं- इजरायल विद्रोही हमाससँग वार्ता अघि बढाउन इच्छुक देखिएको छ । हमास लडाकुको नियन्त्रणमा रहेका आफ्ना बन्दी छुटाउन चौतर्फी दवाब बढेपछि इजरायल वार्ता नवीकरण गर्न इच्छुक देखिएको हो ।

अमेरिका र इजरायली अधिकारीबीच पेरिसमा भएको बैठकपछि इजरायलका एक अधिकारीले गाजामा रहेका बन्धक मुक्त गर्ने सम्झौतामा पुग्ने उद्देश्यले ‘यसै हप्ता’ वार्तालाई नवीकरण गर्ने सरकारको सोंच रहेको बताएका छन् ।

नाम नबताउने शर्तमा ती अधिकारीले यसै साता वार्ता नवीकरणको तयारी रहेको बताएका हुन् । तर इजरायली सञ्चारमाध्यमले भने मोसादका प्रमुख डेभिड बार्नेयाले मध्यस्थकर्ता अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक विल बर्न्स र कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग पेरिसमा रोकिएको वार्ताका लागि नयाँ ढाँचामा सहमति जनाएको उल्लेख गरेका छन् ।

वासिङ्टनका अनुसार शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले इजरायली युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जसँग पनि युद्धविराम र रफाह सीमा नाका पुनः खोल्न नयाँ प्रयासका बारेमा कुराकानी गर्नुभएको छ । यसै महिना गाजा पट्टीमा बन्धक मुक्त गर्ने र युद्धविराम सम्झौता गर्ने उद्देश्यले गरिएको वार्ता इजरायलले गाजा पट्टीको सुदूर दक्षिणी शहर रफाहमा सैन्य अभियान चलाएपछि रोकिएको थियो ।

अक्टोबर ७ मा हमासको आक्रमणमा परी एक हजार १७० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि गाजायुद्ध सुरु भएको हो । हमास लडाकूहरूले २५२ जनालाई बन्धक बनाएका थिए, जसमध्ये १२१ जना गाजामा रहेका छन् भने ३७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

हमास आक्रमणको बदला लिन इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा अधिकांश महिला र बालबालिकासहित करिव ३६ हजार जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.