पीएसबीको लोगो निर्माण गर्न खुल्ला प्रतिस्पर्धा
काठमाडौँ- सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालको लोगो खुल्ला प्रतिश्पर्धाबाट छनौट गरिने भएको छ ।
नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकिकृत गरी सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गरेपछि पीएसबी नेपालले नयाँ लोगो खुला प्रतिश्पर्धाको आधारमा छान्ने भएको हो ।
पीएसबी नेपाल सञ्चालक समितिको यही पुष १४ गतेको निर्णयअनुसार संस्थाको लोगो निर्माणका लागि इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ वा संस्थाले आवेदन दिन सक्ने सूचना प्रकाशित गरिएको छ ।
लोगो निर्माणका लागि आवेदन दिन फर्म/कम्पनी वा संस्थाको हकमा दर्ता प्रमाणपत्र र नियमानुसार कर चुक्ताको प्रतिलिपि तथा व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्र निवेदनका साथ अनिवार्य बुझाउनुपर्ने छ ।
गोरखापत्रमा यही पुष १७ गते प्रकाशित सूचना अनुसार इच्छुक व्यक्ति वा संस्थाले यही पौष २३ गतेभित्र निवेदन दिनुपर्ने छ। निवेदन सार्वजनिक सेवा प्रसारण नेपालको सचिवालय रेडियो नेपाल/नेपाल टेलिभिजनको इमेल ठेगाना rne@radionepal.gov.np मा पठाउन भनिएको छ ।
प्रतिस्पर्धामा सहभागिता जनाएका आवेदकहरुको सूची तयार गरी संस्थाको अवधारणा अनुसार लोगो निर्माण कार्य अगाडि बढाइने सार्वजनिक सेवा प्रसारण नेपालकाे सचिवालयले जनाएको छ ।
नागरिकका लागि सेवा प्रसारण भन्ने मान्यता अनुसार नै संस्थाको लोगो निर्माणका लागि खुला प्रतिस्पर्धाबाट छनौट गर्न लागिएको सचिवालयले जनाएको छ ।
सार्वजनिक सेवा प्रसारणप्रति आम नेपालीको भावनालाई जोड्दै नयाँ बनेको पीएसबीमा सबै नागरिकले अपनत्व लिन सक्ने गरी यो सूचना प्रकाशित गरिएको पीएसबी नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिनुभयो ।
अध्यक्ष डा विष्टका अनुसार लोगो निर्माणका लागि प्राप्त आवेदकहरुको सूची तयार गरी आवेदकहरूबीच अवधारणागत छलफलपछि प्रतिष्पर्धाका आधारमा लाेगाे निर्माण हुने र जुरीले छनाेट गरेकाे सर्वाेत्कृष्ट लाेगाेलाई आकर्षक पुरस्कार प्रदान गरिने याेजना रहेकाे छ ।
हाल नेपाल टेलिभिजन र रेडियो नेपालका समाचार, कार्यक्रम तथा अन्य प्राविधिक एवं प्रशासनिक संरचनाहरुको रुपान्तरणका बारेमा आन्तरिक गृहकार्यहरु भइरहेका छन ।
पीएसबीमा दुबै निकायहरु रुपान्तरण भइसकेपछि प्रसारण हुने विषयबस्तुका साथै कर्मचारीहरुलाई अभिमुखीकरण एवम् नियमावली, विनियमावली र अरु आवश्यक कानूनहरु निर्माणको काम पनि अघि बढिरहेको छ ।।
प्रतिक्रिया राख्नुहोस्