चार वटा गैँडा स्थानान्तरण

पूर्वी नवलपरासी- पूर्वी नवलपरासी जिल्लाबाट चार वटा गैँडा स्थानान्तरण गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले आफ्नो वार्षिक कार्य योजना अनुसार निकुञ्जको पश्चिम सेक्टर अन्तरगत पूर्वी नवलपरासीबाट चार वटा गैँडालाई पूर्वी सेक्टरमा सारेको हो ।
निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत गुन्द्रही ढकाहा बनबाट १५ र १६ वर्षको पोथी गैँडा, नमूना मध्यवर्ती सामुदायिक बनबाट १८ वर्षको भाले र १४ वर्षको पोथी गैँडालाई स्थानान्तरण गरिएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिुनभयो ।
स्थानान्तरण गरिएको गैँडालाई निकुञ्जको पूर्वी सेक्टरमा खगेन्द्रमल्ली र प्यारी ढाप क्षेत्रमा छाडिएको छ ।
सन् २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने सिफारिस गरेको थियो ।
वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिस अनुसार १० वटा गैँडालाई स्थानान्तरण गर्न स्वीकृति दिए पछि गतवर्ष पश्चिम सेक्टरबाट ६ वटा गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको थियो ।
निकुञ्जका अनुसार नस्ल सुधार गर्ने उदेश्यले यस वर्ष ४ गैँडालाई लगिएको हो ।।
प्रतिक्रिया राख्नुहोस्