धादिङको ज्वालामुखी गाउँपालिका जिल्लाकै स्वच्छ र सफा नमुना गाउँपालिका घोषणा

धादिङ – ज्वालामुखी गाउँपालिकालाई जिल्लाकै नमुना, सफा र स्वच्छ गाउँपालिका निर्माणका लागी स्थानीय जनप्रतिनिधिहरू जुटेका छन् ।
खानेपानी स्वास्थ्य सरसफाइ मानिसको आधारभूत आवश्यकता भएकोले पालिकाले यी आवश्यकता पूरा गर्न उच्च प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ । सरकारी र विभिन्न गैर सरकारी सङ्घ संस्थाहरूको सहयोगमा धादिङ ज्वालामुखी गाउँपालिकालाई नमुना स्थानीय तह घोषणाको लागि आवश्यक सुधारका काम भइरहेको पालिकाले जनाएको छ । स्थानीय जनता स्वस्थ नभई गाउँ र स्थानीय तहको विकास सम्भव नहुने भन्दै नागरिकको स्वास्थ्य र त्यसपछि विकास भन्ने अवधारणा कार्यान्वयन गर्न थालेको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनुभयो ।
ज्वालामुखी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका छ हजार असी घर धुरीमध्ये ५५ प्रतिशत घरमा स्वच्छ पिउने पानीको धारा पुर्याई सकेको छ । स्वच्छ सफा खाना, व्यक्तिगत सरसफाइ, शौचालय लगायत वातावरणीय सरसफाइ जस्ता मापदण्ड समेत पूरा गरी तीन वटा वडालाई पूर्ण रुपमा नमुना, सफा र स्वच्छ वडा घोषणा गरेको छ । बाँकी चार वडामा पनि आवश्यक मापदण्ड पूरा गर्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको पालिकाले जनाएको छ । ज्वालामुखी गाउँपालिकाले घरमा सुत्केरी गराउने कामलाई शून्य मात्र बनाएको छैन, अस्पतालमा सुत्केरी गराउँदा लाग्ने सम्पूर्ण खर्च स्थानीय तहले बेहोर्ने र जन्मेको बच्चाको एक लाख बराबरको स्वास्थ्य बिमा पनि निःशुल्क गरिदिने व्यवस्था मिलाएको छ । सर्ने र नसर्ने रोग नियन्त्रणका लागि आफ्नो वरपरको वातावरण सफा राख्न पालिकाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । भौतिक पूर्वाधारको विकासभन्दा स्वास्थ्य क्षेत्रको सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरेको ज्वालामुखी गाउँपालिकाका अधिकारीहरूको भनाइ छ ।।
प्रतिक्रिया राख्नुहोस्